आगामी वर्ष १ हजार किमी सडक कालोपत्रे, २७५ पुल निर्माण गर्ने सरकारको लक्ष्य

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा सडक तथा पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै करिब १ हजार किलोमिटर सडक कालोपत्र गर्ने र २७५ वटा सडक पुल निर्माण गर्ने लक्ष्य लिएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै पूर्व–पश्चिम राजमार्गलाई १ हजार २८ किलोमिटर लामो चार लेन सडकका रूपमा पाँच वर्षभित्र सम्पन्न गरिने घोषणा गरे। यसै वर्ष कमला–कञ्चनपुर र नारायणगढ–बुटवल खण्डको स्तरोन्नति सम्पन्न हुने उनले बताए।

सरकारले आगामी वर्ष काँकरभिट्टा–लौकही, कमला–बागमती, बुटवल–गोरुसिङ्गे र धानखोला–लमही खण्डअन्तर्गत करिब ८० किलोमिटर सडक स्तरोन्नति गर्नेछ। साथै बागमती–पथलैया, नारायणगढ–हेटौँडा र गोरुसिङ्गे–चन्द्रौटा खण्डको स्तरोन्नति सुरु गरिनेछ। पोखरिया–कञ्चनपुर, चन्द्रौटा–धानखोला र कोहलपुर–गड्डाचौकी खण्डको अध्ययन सम्पन्न गरिने पनि बजेटमा उल्लेख छ। पूर्व–पश्चिम राजमार्गका लागि रु ३७ अर्ब ४६ करोड विनियोजन गरिएको छ।

काठमाडौँ–तराई–मधेस द्रुतमार्गमा आगामी वर्ष ४० वटा पुल र ५.४ किलोमिटर सुरुङ निर्माण सम्पन्न गरिनेछ। साथै लिङ्क रोड निर्माण पनि सुरु गरिनेछ। यस आयोजनाका लागि रु १७ अर्ब ६४ करोड विनियोजन गरिएको छ।

हुलाकी राजमार्ग तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित घना बस्ती भएका क्षेत्रमा सडक चौडा गर्ने काम सुरु गरिनेछ। यसअन्तर्गत ८ वटा पुल निर्माण सम्पन्न गरिने र रु ४ अर्ब ६५ करोड विनियोजन गरिएको छ।

कर्णाली राजमार्ग, कालीगण्डकी करिडोर र कोशी करिडोरका विभिन्न खण्डमा गरी कुल ६७ किलोमिटर सडक कालोपत्र तथा ग्राभेल गरिनेछ। यी करिडोरका लागि रु ६ अर्ब २५ करोड विनियोजन गरिएको छ।

त्यस्तै, पुष्पलाल मध्यपहाडी राजमार्ग तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित ६५ किलोमिटर सडक स्तरोन्नति र ५ वटा पुल निर्माण गरिनेछ। मदन भण्डारी राजमार्गअन्तर्गत २५ किलोमिटर कालोपत्र तथा पुल निर्माण गरिनेछ।

पृथ्वी राजमार्गअन्तर्गत आबुखैरेनी–पोखरा चार लेन सडक छिटो सम्पन्न गर्ने, मुग्लिन–आबुखैरेनी खण्डको निर्माण सुरु गर्ने तथा नागढुङ्गा–मुग्लिन खण्डको ४० किलोमिटर स्तरोन्नति गर्ने योजना छ।

नागढुङ्गा सुरुङमार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याइने र गल्छी–स्याफ्रुबेँसी–रसुवागढी लगायतका रणनीतिक सडकहरूको स्तरोन्नति पनि अघि बढाइने सरकारको योजना छ।