झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्

काठमाडौं — राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयहरूमा छड्के अनुगमनलाई तीव्र बनाएको छ । केन्द्रले दैनिक करिब १० वटा कार्यालयमा अनुगमन गर्दै कर्मचारीको उपस्थिती, पोशाक, कागजात व्यवस्थापनलगायत विषयमा निगरानी बढाएको जनाएको छ ।

केन्द्रकी सूचना अधिकारी सरिता खतिवडाका अनुसार पाँच वटा समूह बनाएर कार्यालय समयमै अनुगमन भइरहेको छ । अनुगमनका क्रममा हाजिरी, पोशाक (ड्रेस कोड) र फाइल व्यवस्थापन जस्ता विषयलाई विशेष प्राथमिकता दिइएको छ ।

गत साउनदेखि हालसम्म केन्द्रले देशभरका १ हजार १३० सरकारी कार्यालयमा अनुगमन गरेको छ । उक्त अवधिमा ६ हजार ७१० जना कर्मचारीले कार्यालय समय पालना नगरेको र १ हजार १६२ जना कर्मचारीले तोकिएको पोशाक नलगाएको पाइएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार केही कार्यालयमा एकभन्दा बढी पटकसमेत छड्के अनुगमन गरिएको छ । अनुगमनका क्रममा नियम उल्लङ्घन गर्ने कर्मचारीलाई कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको छ ।

कानुनी व्यवस्थाअनुसार निजामती सेवा ऐन, २०४९ को दफा ५५ बमोजिम सम्बन्धित कार्यालयले पहिलो चरणमा चेतावनी पत्र दिने र सोको अभिलेख कार्यालयमा राखिने व्यवस्था छ । दुई पटकसम्म चेतावनी पाएपछि सम्बन्धित कर्मचारीमाथि विभागीय कारबाही गर्ने प्रावधान रहेको पनि केन्द्रले स्पष्ट पारेको छ ।

केन्द्रले सातै प्रदेशमा एक–एक जिल्लालाई विशेष निगरानीमा राख्दै अनुगमन गर्दै आएको छ। जनसम्पर्क बढी हुने जिल्ला स्तरीय कार्यालयहरूमा प्राथमिकताका साथ छड्के निरीक्षण भइरहेको जनाइएको छ ।