काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले वैदेशिक मामिलाका विषयमा सरकारले र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संवेदनशील र परिपक्व व्यवहार अपनाउनुपर्ने सुझाव दिएका छन् ।
रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणपछि सोमबार बोलाइएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङदेनले आफूले उक्त विषयमा स्पष्ट सुझाव दिएको जानकारी दिएका हुन् ।
उनका अनुसार प्रधानमन्त्री बालेन्द्र साहले संसदमा र सभापति लामिछानेले भारत भ्रमणका क्रममा दिएको “विगतको भारी नबोक्ने” भन्ने अभिव्यक्ति अपरिपक्व भएको भन्दै त्यसले नेपालको संसदले सर्वसम्मतिबाट पारित गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानीसम्बन्धी अडानलाई कमजोर पार्न सक्ने खतरा रहेको बताए ।
अध्यक्ष लिङदेनले सरकारले गर्ने गलत निर्णय वा अभिव्यक्तिको असर सम्पूर्ण देशले भोग्नुपर्ने भएकाले वैदेशिक मामिलामा विशेष सतर्कता आवश्यक रहेको तर्क गरे ।
उनले भने, “सरकारका गतिविधिको असर सम्पूर्ण देशले व्यहोर्नुपर्छ, त्यसैले परिपक्व व्यवहार आवश्यक छ । प्रधानमन्त्रीको संसदमा आएको अभिव्यक्ति होस् वा रास्वपा सभापतिको भारत भ्रमणको भनाइ, ती सबैले अर्थ राख्छन् ।”
लिङदेनका अनुसार “विगतको भारी नबोक्ने” भन्ने अभिव्यक्तिले ऐतिहासिक तथ्य र संसदबाट पारित नेपालको अडानमाथि गलत अर्थ लाग्न सक्ने भएकाले त्यस्ता विषयमा सावधानी अपनाउनुपर्ने आवश्यकता छ ।
उनले रास्वपाले हाल प्राप्त गरेको जनमतलाई अवसरका रूपमा उपयोग गर्दै कूटनीतिक रूपमा अझ जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने सुझाव पनि दिए ।
अध्यक्ष लिङदेनले सरकारलाई जनताले दिएको मतलाई अवसरका रूपमा उपयोग गर्दै राष्ट्रिय हितलाई केन्द्रमा राखेर नीति निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।



