गत आर्थिक वर्षमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौं : राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा देशका दुर्गम क्षेत्रका १०३ गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई नेपाली सेनामार्फत हवाई उद्धार गरी आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराएको जनाएको छ।

मन्त्रालयले हवाई उद्धार कार्यलाई व्यवस्थित बनाउन ‘गर्भवती तथा सुत्केरी महिला हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७७’ कार्यान्वयनमा ल्याएको छ। उक्त कार्यविधिअनुसार ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाको पहिचान गरी उद्धार गरिन्छ।

कार्यविधिमा लगातार १८ घण्टाभन्दा बढी प्रसव व्यथा लागेर पनि शिशु जन्मन कठिनाइ भएको अवस्था, नवजात शिशुको हातखुट्टा वा शरीर पहिला निस्किएर प्रसूति जटिल बनेको अवस्था, शिशु जन्मिएको ३० मिनेटसम्म सालनाल ननिस्किएको अवस्था तथा गर्भमै शिशुको मृत्यु भएको अवस्था जस्ता जटिल स्वास्थ्य समस्यालाई उद्धारका आधारका रूपमा समेटिएको छ।

त्यसैगरी गर्भावस्थामा हातखुट्टा तथा शरीर अत्यधिक सुन्निने, अत्यधिक रक्तश्राव हुने, पाठेघर फुट्ने, पाठेघरबाहिर गर्भ रहेको आशङ्का हुनेलगायतका गम्भीर स्वास्थ्य समस्यामा परेका गर्भवती तथा सुत्केरी महिलालाई पनि कार्यक्रमअन्तर्गत निःशुल्क हवाई उद्धार गरिने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ।

सरकारले दुर्गम तथा स्वास्थ्य सेवा पहुँचबाहिर रहेका क्षेत्रका महिलाको मातृ तथा शिशु मृत्युदर न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन गर्दै आएको छ।