बढ्याे आन्तरिक हवाई भाडा

काठमाडौं – नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै आन्तरिक वायुसेवा कम्पनीहरूले पनि हवाई भाडा वृद्धि गरेका छन्। निगमले साउन १८ गतेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ बढाएपछि वायुसेवा कम्पनीहरूले इन्धन शुल्क (फ्युल सरचार्ज) समायोजन गरेका हुन्।

वायुसेवा कम्पनीहरूले इन्धनको मूल्य बढ्दा वा घट्दा स्वचालित प्रणालीअनुसार इन्धन शुल्क समायोजन गर्ने व्यवस्था रहेको छ। यसअघि असार १६ गते इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटेपछि हवाई भाडा पनि घटाइएको थियो। तर नयाँ मूल्य लागू भएसँगै यात्रुले अब बढेको भाडादरमा टिकट खरिद गर्नुपर्ने भएको छ।

नयाँ व्यवस्थाअनुसार काठमाडौं–धनगढी उडानमा सबैभन्दा बढी भाडा वृद्धि भएको छ। उक्त रुटमा इन्धन शुल्क ८७९ रुपैयाँ ५५ पैसा बढेको छ। काठमाडौं–सिमरा उडानमा भने सबैभन्दा कम १८३ रुपैयाँ थपिएको छ।

काठमाडौंबाट सञ्चालन हुने अन्य प्रमुख गन्तव्यमा पनि इन्धन शुल्क वृद्धि गरिएको छ। माउन्टेन फ्लाइटमा ६८८ रुपैयाँ, सुर्खेतमा ६९० रुपैयाँ, नेपालगञ्जमा ६५४ रुपैयाँ, भद्रपुरमा ६०० रुपैयाँ, विराटनगरमा ४७८ रुपैयाँ, पोखरामा ३१४ रुपैयाँ तथा भैरहवामा ४१० रुपैयाँ अतिरिक्त इन्धन शुल्क लाग्ने भएको छ।

वायुसेवा कम्पनीहरूका अनुसार हवाई टिकटको कुल मूल्यमा इन्धन शुल्कसँगै आधारभूत भाडा, विमानस्थल सेवा शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) समेत समावेश हुने भएकाले गन्तव्य र यात्रु मागअनुसार भाडादर फरक–फरक हुने गर्दछ।

हाल काठमाडौं–धनगढी रुटको टिकट मूल्य ६ हजारदेखि १० हजार रुपैयाँसम्म पुगेको छ। भद्रपुरका लागि १ हजार ७ सयदेखि ६ हजार ९ सय रुपैयाँ, विराटनगरका लागि १ हजार ३ सयदेखि ५ हजार ५ सय रुपैयाँ तथा नेपालगञ्जका लागि १ हजार ८ सयदेखि ७ हजार ४ सय रुपैयाँसम्म भाडादर कायम रहेको छ।

सबैभन्दा कम भाडा सिमरा र जनकपुर गन्तव्यमा रहेको छ। जनकपुरका लागि ७ सयदेखि २ हजार ९ सय रुपैयाँ तथा सिमराका लागि ५ सयदेखि २ हजार रुपैयाँसम्म टिकट मूल्य निर्धारण गरिएको छ।

वायुसेवा कम्पनीहरूले सुगम क्षेत्रका सहरी विमानस्थलका साथै दुर्गम गन्तव्यका उडानमा समेत इन्धन शुल्क वृद्धि गरिएको जनाएका छन्। इन्धन मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव यात्रु भाडामा परेको भन्दै यात्रुले अब अधिकांश आन्तरिक गन्तव्यमा थप शुल्क तिर्नुपर्ने अवस्था बनेको छ।