बाजुराका गौमुल गाउँपालिका र बडीमालिका नगरपालिकाले सञ्चालनमा ल्याए १० शय्याका आधारभूत अस्पताल

बाजुरा – बाजुराका नौ स्थानीय तहमध्ये दुई गाउँपालिकाले १० शय्याका आधारभूत अस्पताल सञ्चालनमा ल्याएका छन्। पर्याप्त जनशक्ति, औषधि तथा उपकरणको अभावका बीच पनि जगन्नाथ र गौमुल गाउँपालिकाले अस्पताल सञ्चालनमा ल्याएका हुन्।

गौमुल गाउँपालिकाले यही भदौ ३ गतेदेखि १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याएको हो। गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बुधबार अस्पतालको औपचारिक उद्घाटन गर्दै सेवा सुरु गरेका हुन् ।

अस्पताल निर्माण सम्पन्न भएको करिब डेढ वर्षपछि सेवा सञ्चालनमा ल्याइएको हो। अस्पताल निर्माण सम्पन्न भए पनि विद्युत् सेवा, औषधि तथा उपकरण र जनशक्ति व्यवस्थापनमा ढिलाइ हुँदा सञ्चालनमा ल्याउन समय लागेको अध्यक्ष रोकायाले बताए। अहिले आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन गरी सीमित स्वास्थ्य सेवा सुरु गरिएको उनले जानकारी दिए ।

अस्पतालमा मेडिकल अधिकृतसहित २२ जना कर्मचारी रहने व्यवस्था गरिएको छ। तत्काल चिकित्सक उपलब्ध हुन नसकेपछि उपलब्ध जनशक्तिबाट सेवा सुरु गरिएको अध्यक्ष रोकायाले बताए ।

“अब आवश्यक जनशक्ति, औषधि र उपकरणको व्यवस्था गरेर नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा दिने तयारीमा छौँ,” उनले भने ।

गाउँपालिकाकी उपाध्यक्ष सीता थापाले अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीले आफ्नै पालिकामा स्वास्थ्य सेवा पाउने वातावरण बनेको बताइन् । यसअघि सामान्य स्वास्थ्यचौकीबाट उपलब्ध हुने सीमित सेवामा निर्भर स्थानीयवासीले अब थप स्वास्थ्य सेवा आफ्नै पालिकाबाट पाउने अपेक्षा गरिएको छ।

अस्पताल सञ्चालनमा आएपछि गौमुलवासीलाई सामान्य जाँच तथा उपचारका लागि सदरमुकाम मार्तडी वा धनगढी जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसैगरी, जगन्नाथ गाउँपालिकाले २०८० चैतदेखि नै १० शय्याको आधारभूत अस्पताल सञ्चालन गर्दै आएको छ। गाउँपालिकाको केन्द्र जुड्डीमा निर्माण भएको अस्पताल रु ११ करोड ७८ लाख ४५ हजारको लागतमा निर्माण गरिएको हो।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर शाहीका अनुसार अस्पताल सञ्चालनमा आए पनि केही जनशक्ति र उपकरणको अभाव छ। उनका अनुसार २०८२ चैतदेखि एक मेडिकल अधिकृतको पद रिक्त रहेकाले गाउँपालिकाले तत्काल विज्ञापन गर्ने निर्णय गरेको छ।

स्वास्थ्य सेवाबाट पछाडि परेका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले २०७७ सालमा देशभर ‘एक स्थानीय तह, एक अस्पताल’ निर्माणको योजना अघि सारेको थियो।

बाजुराका दुई गाउँपालिकाले आधारभूत अस्पताल निर्माण गरी सञ्चालनमा ल्याए पनि जिल्लाका अन्य स्थानीय तहले भने अझै अस्पताल सञ्चालनमा ल्याउन सकेका छैनन्।

जिल्ला सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिकाले वडा नं. ७ चुथीमा १० शय्याको अस्पताल निर्माण सम्पन्न गरी सञ्चालनको तयारी गरिरहेको नगरप्रमुख अमरबहादुर खड्काले बताए ।