काठमाडौँ – रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको बाढीबाट प्रभावितको खोज तथा उद्धार र विपद् व्यवस्थापनका लागि एक हजार ५०० भन्दा बढी सशस्त्र प्रहरी परिचालन भएका छन्।
सशस्त्र प्रहरीले प्रभावित क्षेत्रमा विपद् प्रतिकार्य बेस स्थापना गरी भत्किएका संरचनामा खोज तथा उद्धार गर्न दक्ष टोली तथा गोताखोर तालिम प्राप्त जनशक्ति परिचालन गरेको जनाएको छ।
परिचालित टोलीले विभिन्न संरचना, जलविद्युत् परियोजना तथा अन्य प्रभावित स्थानमा सम्पर्कविहीन भएका व्यक्तिको खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।
खोज तथा उद्धारका लागि सशस्त्र प्रहरीका तालिम प्राप्त कुकुर र छ वटा ड्रोनसमेत परिचालन गरिएको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार परिचालित टोलीले लोकेट गरिएका १२ स्थानबाट ९८ वटा शव फेला पारेको, ३० जना घाइतेको उद्धार तथा ७३ जनालाई सकुशल उद्धार गरेको छ।
नुवाकोटमा स्वास्थ्य शिविर, अस्पतालमा १०० शय्या तयारी
बाढीमा घाइते भएकालाई तत्काल प्राथमिक उपचार उपलब्ध गराउन सशस्त्र प्रहरीको चिकित्सकसहितको टोलीले नुवाकोटमा स्वास्थ्य शिविर स्थापना गरी स्वास्थ्य सेवा प्रदान गरिरहेको छ।
बाढी प्रभावित तथा घाइतेको थप उपचारका लागि नेपाल एपीएफ अस्पतालमा १०० वटा शय्या खाली राखिएको सशस्त्र प्रहरीले जनाएको छ।
त्यस्तै, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा १०० शय्या क्षमताको कन्टेनरसमेत बाढी प्रभावित क्षेत्रमा तत्काल पुर्याउने कार्य भइरहेको छ।
अन्य क्षेत्रमा रहेका कन्टेनरसमेत बाढी प्रभावित क्षेत्रतर्फ केन्द्रित गरी परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बाढीबाट ठूलो जनधनको क्षति भएपछि सुरक्षाकर्मीले खोज तथा उद्धारसँगै घाइतेको उपचार, प्रभावितको सुरक्षित स्थानान्तरण र राहत व्यवस्थापनका कामलाई समेत निरन्तरता दिइरहेका छन्।



