धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा गएको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने कामलाई तीव्र बनाइएको छ। गत सोमबारदेखि अवरुद्ध रहेको सडक खुलाउन प्राविधिक तथा उद्धारकर्मीको टोली युद्धस्तरमा परिचालन गरिएको हो।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सामाजिक सञ्जालमार्फत राजमार्गमा सवारी आवागमन सहज बनाउन सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिनुभएको छ। पहिरो पन्छाउने कार्यलाई व्यवस्थित बनाउन सडकको दुवैतर्फबाट १८ जना मजदुर तथा प्राविधिक परिचालन गरिएको छ।
हाल पहिरो आसपासका रुख काट्ने काम भइरहेको प्रशासनले जनाएको छ। रुख हटाउने काम सकिएलगत्तै तयारी अवस्थामा राखिएका स्काभेटर तथा डोजर प्रयोग गरी थुप्रिएको लेदो र ढुङ्गा पन्छाउने कार्य सुरु गरिनेछ।
सडकमा थुप्रिएको ठूलो परिमाणको लेदो तथा ढुङ्गा हटाएर यथाशक्य छिटो यातायात सञ्चालनमा ल्याउन आवश्यक उपकरण तथा जनशक्तिलाई पूर्ण क्षमतामा परिचालन गरिएको प्रशासनले जनाएको छ।



