काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विपद्पछि शव व्यवस्थापन र अवरुद्ध सडक सञ्जाल पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखेर काम गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र साहसँग भेट गरी घिसिङले स्थलगत अवलोकनका क्रममा देखिएका समस्या तथा स्थानीय बासिन्दा र जनप्रतिनिधिको आक्रोशबारे जानकारी गराएका हुन् ।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै घिसिङले शव व्यवस्थापनमा भएको ढिलाइप्रति प्रभावित क्षेत्रका स्थानीय र जनप्रतिनिधिमा ठूलो असन्तुष्टि रहेको बताए । उनले आफूहरू फिल्डमै पुगेर स्थानीयको गुनासो सुनेकाले त्यसबारे प्रधानमन्त्रीलाई स्पष्ट जानकारी गराएको बताए ।
घिसिङले अवरुद्ध सडक सञ्जाल तत्काल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । सडक सम्पर्कमा ढिलाइ हुँदा राहत, उद्धार तथा प्रभावितको व्यवस्थापनमा समेत समस्या हुने भएकाले सडक कनेक्टिभिटीलाई विशेष प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएको उनको भनाइ छ ।
होल्डिङ सेन्टरमा रहेका बालबालिका, महिला तथा ज्येष्ठ नागरिकको स्वास्थ्य र सामाजिक सुरक्षाको उचित व्यवस्थापन गर्नुपर्ने विषयमा समेत छलफल भएको उनले बताए । उनका अनुसार प्रधानमन्त्री साहले होल्डिङ सेन्टरमा रहेका बालबालिकालाई काठमाडौं ल्याएर उचित व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन् ।
घिसिङले विपद्को पूर्वतयारीमा कमजोरी भएको स्वीकार गर्दै अहिले देखिएका कमी–कमजोरी सच्याएर सबै पक्ष एकताबद्ध भई विपद् व्यवस्थापनमा जुट्नुपर्ने बताए ।
‘विपद्को यो घडीमा देखिएका ल्याप्सहरूलाई करेक्सन गरेर अब सबै एकताबद्ध भएर समाधानतिर लैजानुपर्छ,’ उनले भने ।



