पर्यटक तान्दै नाढीमन ताल, अव्यवस्थाले फेरि गुम्ने डर

सर्लाही – धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सर्लाहीको नाढीमन ताल परिसरमा पुनः पर्यटकीय गतिविधि बढ्न थालेको छ । जैविक विविधतायुक्त यस ताललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले केही समयअघि देशका १०० पर्यटकीय गन्तव्यमध्ये सूचीकृत गरेको थियो ।

आन्तरिक व्यवस्थापन र पर्यटन प्रवद्र्धनमा बेवास्ता हुँदा लामो समय सुनसान बनेको तालमा पछिल्लो समय आन्तरिक तथा भारतीय पर्यटकको आगमन बढेसँगै पुनः चहलपहल सुरु भएको हो ।

चन्द्रनगर गाउँपालिका–६ र ७ मा फैलिएको नाढीमन ताल ५२ बिघा क्षेत्रफलमा रहेको बताइएको छ । चारैतिरबाट अतिक्रमणको चपेटामा परेको तालको अहिले करिब ३५ बिघा क्षेत्रफलमा पानी रहेको छ । तालको दक्षिण–पश्चिम क्षेत्रमा मिथिला कलाघर र ‘चिल्ड्रेन पार्क’ निर्माण गरिएको छ ।

तालको चारैतिर सडकसहितको ड्याम निर्माण गरी पर्यावरणीय दृष्टिले विकास गर्ने तथा वृक्षरोपणका कार्यक्रम अघि बढाइएको गाउँपालिका अध्यक्ष राजकुमार महतोले बताए । ताल परिसरमै साविक गाविस कार्यालय, श्री मरीचि मानेश्वर महादेव मन्दिर, धर्मशाला र गाउँपालिकाको प्रशासनिक भवनले समेत केही क्षेत्र ओगटेका छन् ।

विसं २०७२ मा राष्ट्रपति चुरे संरक्षण विकास कार्यक्रमअन्तर्गत नेपाली सेनाले ताल परिसर सरसफाइ, बस्नका लागि बेन्च निर्माण तथा वृक्षरोपणलगायतका काम गरेको थियो । त्यसपछि जलकुम्भीले ढाकेर कुरूप बनेको ताल आकर्षक बनेसँगै पर्यटकको आगमन बढेको थियो । पर्यटकको चहलपहल बढेपछि स्थानीय व्यापारीले लगानी गरेर पसल तथा होटल सञ्चालन गरे पनि संरक्षणको अभावमा ताल फेरि अस्तव्यस्त र सुनसान बन्दै गएपछि ती व्यवसाय पनि क्रमशः पलायन भएका थिए ।

अहिले ताल पुनः सुन्दर बन्दै गएसँगै धार्मिक तथा अन्य पर्यटकको आगमन बढ्न थालेपछि स्थानीय व्यापारी उत्साहित भएका छन् । स्थानीय व्यापारी लक्ष्मी सिंहका अनुसार आन्तरिक पर्यटकसँगै भारतको बिहार राज्यका विभिन्न जिल्लाबाट आउने पर्यटकका कारण व्यापार व्यवसायमा समेत सकारात्मक प्रभाव परेको छ ।

तालमा पानी आउने कुनै ठूलो स्रोत छैन । जमिनमुनिबाट नियमित रूपमा जरुवा पानी निस्कने भएकाले ताल भरिभराउ रहने गरेको गाउँपालिका अध्यक्ष महतोले बताए । विसं २०८१ मा माछा निकाल्न ठेकेदारले ताल सुकाएपछि गौचरनमा परिणत भएको ताल अहिले क्रमशः पुरानै अवस्थामा फर्किएको छ ।

सर्लाहीको बरहथवा–५ का बुद्धबहादुर थिङले ताल परिसर आफूले सुनेभन्दा सुन्दर रहेको बताए । तर प्रचारप्रसारको अभावमा महत्वपूर्ण प्राकृतिक सम्पदाका रूपमा रहेको नाढीमन तालबारे धेरैलाई जानकारी नभएको उनको भनाइ छ ।

“एक पटक घुम्न आएका पर्यटकले अरूलाई पनि आउन प्रोत्साहन गर्ने माहोल हुनुपर्छ,” उनले भने, “त्यसपछि कसैले केही गर्नु पर्दैन ।”

तर तालको मुख्य आकर्षणका रूपमा रहेको मोटरबोट सेवा नियमित सञ्चालन नहुँदा पर्यटक निराश हुने गरेका छन् । सदरमुकाम मलङ्गवाबाट ताल घुम्न आएका दिनेश महतोले आफू पटकपटक बोट चढ्न आए पनि सञ्चालन नभएकाले अवसर नपाएको गुनासो गरे ।

ताल परिसरमा निर्माण भएका संरचनाको व्यवस्थापन कमजोर रहेको तथा पार्कमा हालै निर्माण गरिएका बालबालिकाका खेल्ने संरचना जीर्ण बन्दै गएको उनले बताए । कतिपय संरचना जोखिमपूर्ण अवस्थामा रहेकाले स्थानीय सरकारले तत्काल ध्यान दिनुपर्ने उनकाे भनाइ छ ।

गाउँपालिकाले ताल परिसरमा पार्क, प्रतीक्षालय, मठमन्दिर, शौचालयलगायत संरचना निर्माणका लागि विसं २०८१ असार २१ गते रु सात करोड ८० लाख ४३ हजार १९ रुपैयाँ ७० पैसामा ठेक्का लगाएको छ । ३६ महिनामा निर्माण सम्पन्न गर्ने गरी एस एन्ड एस/काल्सा जेभी बागमती, सर्लाहीले निर्माणको जिम्मा लिएको हो ।

नाढीमन ताल परिसरको मौलिक पुनर्निर्माण तथा सौन्दर्यीकरणले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने स्थानीय राम स्वगारथ रायले बताए।

पालिकाले आन्तरिक आय बढाउने उद्देश्यले माछापालनका लागि ताल ठेक्कामा दिएको छ । यही कारण मोटरबोट सञ्चालनमा समेत समस्या भएको बोट व्यवस्थापक कर्मचारी धनिराम सहनीले बताए। मोटरबोट सञ्चालन गर्दा माछा मर्ने गरेको भन्दै सम्झौताअनुसार ठेकेदारले तालमा बोट सञ्चालन गर्न रोक लगाएको उनकाे भनाइ छ ।

तालमा मरेका माछा तथा अन्य फोहोरका कारण दुर्गन्ध फैलिँदा पर्यटकलाई समस्या हुने गरेको छ । स्थानीय बिनिता महतोले माछा मरेपछि आएको दुर्गन्धका कारण तालको छेउमा उभिनसमेत कठिन हुने बताए ।

तालको सरसफाइ, नियमित बोट सञ्चालन, निर्माणाधीन संरचनाको व्यवस्थापन तथा प्रभावकारी प्रचारप्रसारमा समयमै ध्यान दिन नसके विगतमा जस्तै पर्यटकको आगमन घट्ने जोखिम रहेको स्थानीयको भनाइ छ ।