राष्ट्रपतिद्वारा गोरखकाली र गोरखनाथ मन्दिरमा पूजाअर्चना

काठमाडौँ, चैत १२ गते । राष्ट्रपति रामचन्द्र पौडेलले गोरखामा रहेको नेपालकै प्रसिद्ध धार्मिकस्थल गोरखकाली मन्दिर र गोरखनाथ मन्दिरमा पूजाअर्चना गर्नुभएको छ ।

आज बिहान करिब साढे ९ बजे नेपाली सेनाको हेलिकोप्टर चढेर गोरखा पुग्नुभएका उहाँले गोरखनाथ र गोरखकाली मन्दिरमा विशेष पूजाअर्चना गर्नुभएको हो । उहाँलाई गोरखा दरबारका मूल पुजारी शारदाप्रसाद भट्टराईले विधिपूर्वक पूजाअर्चना गराउनुभएको थियो ।

गोरखकाली मन्दिरको पूजासकेलगत्तै राष्ट्रपति पौडेललेसँगै रहेको गोरखनाथ मन्दिरमा पनि पूजा गर्नुभएको हो । मन्दिरमा पूजा गरेर फर्किएरपछि उहाँले गोरखा सदरमुकामस्थित ठूलो आँगनमा रहेको नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणसमेत गर्नुभयो ।

उहाँले आज नै ऐतिहासिक गोरखा दरबार सङ्ग्रहालयकोसमेत अवलोकन गर्नुभएको छ । दरबार सङ्ग्रहालयको अवलोकनका क्रममा त्यहाँ रहेका स्थानीयसँग पनि केहीबेर राष्ट्रपति पौडेलले कुराकानी गर्नुभएको थियो । राष्ट्रपति पौडेल आजै सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ फर्कनुभएको छ ।