इन्द्रजात्रादेखि हनुमानढोका दरबार क्षेत्रका मन्दिरमा रात्रिकालीन बत्ती बालिने

काठमाडौं – यस वर्षको इन्द्रजात्रादेखि हनुमानढोका दरबार क्षेत्रका प्रत्येक मन्दिर रात्रिकालीन बत्तीले झिलिमिली बनाइने भएको छ ।

काठमाडौं महानगरपालिका, हनुमानढोका दरबार संरक्षण कार्यक्रमका अनुसार रात्रिकालीन बत्ती जडानको काम जैसीदेवलबाट सुरु गरिएको हो । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका ३२ वटा मन्दिरमा हालसम्म बत्ती जडान भइसकेको कार्यक्रमका लेखा अधिकृत सुन्दरकाजी थुयाजूले जानकारी दिए ।

उनका अनुसार नमुनाका रूपमा जैसीदेवलमा पाँच महिनाअघिदेखि नै रात्रिकालीन बत्ती बाल्न सुरु गरिएको थियो । यसको सकारात्मक प्रभाव देखिएपछि हनुमानढोका दरबार क्षेत्रका अन्य मन्दिरमा समेत बत्ती जडानलाई विस्तार गरिएको हो ।

यद्यपि, बत्तीका तार भूमिगत बनाउन भने पुरातत्व विभागले स्वीकृति नदिएको हनुमानढोका दरबार संरक्षण कार्यक्रमले जनाएको छ ।

यसैबीच, इन्द्रजात्रालाई लक्षित गरी वसन्तपुर दरबार क्षेत्रमा रङरोगन तथा साजसज्जाको कामसमेत सुरु भएको छ । यस वर्षको इन्द्रजात्रा असोज ९ गते मनाइँदैछ ।