४२० स्थानीय तहको सहभागितामा मुस्ताङमा पहिलोपटक जलवायु सम्मेलन हुँदै

मुस्ताङ – हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा यही भदौ ३० गते मङ्गलबारदेखि दुईदिने ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ आयोजना हुने भएको छ। जलवायु परिवर्तनले हिमालदेखि तराईसम्म पुर्‍याएको असर र त्यसबाट उत्पन्न चुनौतीबारे साझा धारणा तय गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले मुस्ताङमा पहिलोपटक ऐतिहासिक रूपमा सम्मेलन आयोजना गर्न लागिएको हो।

सम्मेलनमा सहभागिताका लागि देशभरका ७५३ वटै स्थानीय तहलाई पत्राचार गरिएको थियो। आइतबारसम्म ४२० वटा स्थानीय तहले सम्मेलनमा सहभागिता जनाउने प्रतिबद्धता जनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिए। सम्मेलनमा ३६ वटा जिल्ला समन्वय समितिका तर्फबाट समेत प्रतिनिधित्व हुने उनले बताए ।

बस्नेतका अनुसार कोशी प्रदेशबाट ७२, मधेस प्रदेशबाट ५८, बागमती प्रदेशबाट ४६, गण्डकी प्रदेशबाट ६४, लुम्बिनी प्रदेशबाट ६२, कर्णाली प्रदेशबाट ३८ र सुदूरपश्चिम प्रदेशबाट ६६ वटा स्थानीय तहले सहभागिताका लागि नाम टिपाएका छन्।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएको हिमपातको स्वरूपमा परिवर्तन, तापक्रम वृद्धि, पानीका मुहानमा परेको असर तथा प्राकृतिक विपद्का जोखिमदेखि पहाडी र तराईका स्थानीय तहमा देखिएका जलवायुजन्य समस्या र अनुकूलनका उपायसम्म सम्मेलनमा छलफल हुने जनाइएको छ। स्थानीय तहले भोगिरहेका जलवायुजन्य समस्या र अपनाइरहेका अनुकूलनका अभ्यासलाई साझा मञ्चमा ल्याएर समाधानका लागि साझा धारणा निर्माण गर्ने तयारी गरिएको छ।

जलवायु परिवर्तनको असर कुनै एउटा क्षेत्र वा स्थानीय तहमा मात्र सीमित नभई हिमाल, पहाड र तराईसम्म फैलिँदै गएकाले स्थानीय तहको अनुभव र आवश्यकतालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहसम्म पुर्‍याउन सम्मेलन महत्वपूर्ण हुने आयोजकको अपेक्षा छ। सम्मेलनबाट जलवायु परिवर्तनसँग जुध्न स्थानीय तहको भूमिका, स्रोत परिचालन, अनुकूलन र जोखिम न्यूनीकरणका विषयमा साझा प्रतिबद्धता निर्माण गर्ने लक्ष्य राखिएको छ।

सम्मेलन आयोजनामा घरपझोङ गाउँपालिकासँगै मुस्ताङका अन्य चारवटै स्थानीय तहले समेत सहयोग गरिरहेका छन्। जिल्लाभित्रका स्थानीय तहबीचको सहकार्यमा आयोजना हुन लागेको सम्मेलनले मुस्ताङलाई जलवायु परिवर्तनसम्बन्धी स्थानीय बहसको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । देशभरबाट स्थानीय तहका प्रतिनिधि सहभागी हुने भएकाले सम्मेलनलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक तयारी अघि बढाइएको उनले बताए ।

सम्मेलनको उद्घाटन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गर्नुहुनेछ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विशेष अतिथिका रूपमा सम्मेलनमा सहभागी हुनुहुने जनाइएको छ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनले स्थानीय तहले जलवायु परिवर्तनबाट भोगिरहेका समस्या, अनुकूलनका स्थानीय अभ्यास र आगामी रणनीतिबारे साझा निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ। स्थानीय तहको आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जलवायु मञ्चसम्म पुर्‍याउने उद्देश्यले आयोजना हुन लागेको सम्मेलनलाई आयोजकले ऐतिहासिक पहलका रूपमा लिएको छ।