कृष्णभीरमा एकतर्फी सडक सञ्चालनमा, ग्यास बुलेट र हेभी सवारीलाई मात्रै अनुमति

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ।

सडक खुलाउन ग्रेड मिलाउने तथा सम्याउने काम सम्पन्न भएपछि सडकको अवस्था परीक्षणका लागि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन गरिएको हो। सडकको अवस्था हेरेर यातायातलाई थप सहज बनाउँदै लैजाने तयारी गरिएको छ।

सडकको ग्राभेलिङ तथा कम्प्याक्सनको काम भने अझै बाँकी रहेको जनाइएको छ। त्यसैले तत्कालका लागि सडकमा लामो समयदेखि रोकिएका ग्यास बुलेट तथा हेभी इक्युपमेन्ट बोकेका सवारीसाधनलाई मात्रै आवतजावत गर्न दिइएको छ।

गत भदौ १० गते त्रिशूली नदीमा आएको भीषण बाढीका कारण कृष्णभीर क्षेत्रमा सडक कटान भएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। सडक अवरुद्ध हुँदा पृथ्वी राजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन लामो समयदेखि प्रभावित हुँदै आएका थिए।

सडकको बाँकी काम पूरा गरी यातायातलाई थप सहज र नियमित बनाउने तयारी भइरहेको सम्बन्धित निकायले जनाएको छ।