सिंहदरबारकाे गेटबाटै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ

काठमाडौँ – नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहसँग बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग भएको छलफलमा सहभागी भएर फर्कने क्रममा प्रहरीले अध्यक्ष तामाङलाई सिंहदरबारको गेटबाटै पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेका अनुसार तामाङलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरिएको हो । सिंहदरबारबाट नियन्त्रणमा लिएपछि उनलाई दरबारमार्ग प्रहरी परिसरमा बुझाइएको एसएसपी घिमिरेले जानकारी दिए ।

प्रधानमन्त्री शाहले सोमबार बाढीबाट प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिसँग विपद्पछिको अवस्था, खोज तथा उद्धार, राहत र पुनःस्थापनालगायत विषयमा छलफल गरेका थिए । सोही छलफलमा सहभागी हुन अध्यक्ष तामाङ सिंहदरबार पुगेका थिए ।

छलफल सकेर सिंहदरबारबाट बाहिरिने क्रममा प्रहरीले उनलाई गेटमै नियन्त्रणमा लिएको हो ।

बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ परेका तामाङमाथि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।