काठमाडौं – नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङविरुद्ध विभिन्न स्थानमा १० वटा बैंकिङ कसुर तथा ठगीसम्बन्धी मुद्दा रहेको पाइएको छ ।
प्रधानमन्त्री बालेन शाहसँग सोमबार सिंहदरबारमा भएको छलफलमा सहभागी भएर बाहिरिने क्रममा सिंहदरबार गेटबाट पक्राउ परेका तामाङविरुद्ध बैंकिङ कसुरका विभिन्न मुद्दा रहेको प्रहरीले जनाएको हो ।
काठमाडौं जिल्ला प्रहरी परिसरले अनुसन्धान पूरा गरी ३ करोड ४ लाख रुपैयाँ बराबरको बैंकिङ कसुरसम्बन्धी मुद्दाको मिसिल सरकारी वकिल कार्यालयमा पठाइसकेको छ । त्यस्तै १ करोड ३ लाख ३० हजार रुपैयाँ बराबरको अर्को बैंकिङ कसुरको मुद्दासमेत परिसरले सरकारी वकिल कार्यालयमा पठाएको छ ।
प्रहरीका अनुसार ४८ लाख रुपैयाँ र ९५ लाख रुपैयाँ बराबरका थप दुई बैंकिङ कसुरका मुद्दाको मिसिलसमेत पेश भइसकेको छ ।
यसैगरी तामाङविरुद्ध २ करोड ५६ लाख रुपैयाँ बराबरको ठगी कसुरसम्बन्धी मुद्दासमेत काठमाडौं जिल्ला प्रहरी परिसरबाट सरकारी वकिल कार्यालयमा पठाइएको काठमाडौं परिसरका प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।
अन्य मुद्दामध्ये प्रहरी परिसर भक्तपुरमा २ लाख रुपैयाँ, प्रहरी वृत्त जनसेवामा ७५ लाख रुपैयाँ, प्रहरी वृत्त दरबारमार्गमा ५ लाख २५ हजार रुपैयाँ, प्रहरी वृत्त लैनचौरमा १९ लाख ८० हजार रुपैयाँ बराबरका बैंकिङ कसुरसम्बन्धी मुद्दा रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै प्रहरी वृत्त महाराजगञ्जमा पनि तामाङविरुद्ध बैंकिङ कसुरको मुद्दा दर्ता रहेको प्रहरीले जनाएको छ ।
यसरी विभिन्न प्रहरी कार्यालयमा तामाङविरुद्ध बैंकिङ कसुर तथा ठगीसम्बन्धी १० वटा मुद्दा रहेको प्रहरीले जनाएको हो । तीमध्ये केही मुद्दाको अनुसन्धान पूरा गरी सरकारी वकिल कार्यालयमा अभियोजनका लागि मिसिलसमेत पठाइसकिएको छ ।
तामाङ सोमबार बाढी प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन शाहले सिंहदरबारमा गरेको छलफलमा सहभागी हुन पुगेका थिए । छलफल सकेर सिंहदरबारबाट बाहिरिने क्रममा प्रहरीले उनलाई गेटबाटै नियन्त्रणमा लिएको थियो ।
प्रहरीले बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरिएको जनाएको छ । तामाङमाथि लागेका आरोप तथा मुद्दाको अन्तिम निरूपण भने सम्बन्धित कानुनी प्रक्रियाबाट हुने प्रहरीले जनाएको छ ।



