विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका, एक वर्षमै ६ किलोमिटरभन्दा बढी नयाँ सडक

तनहुँ — व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण, सिँचाइ, शिक्षा तथा सार्वजनिक पूर्वाधार निर्माणमा उल्लेख्य प्रगति गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा ६ दशमलव ४६ किलोमिटर नयाँ सडकको ट्र्याक खोलेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार सो अवधिमा तीन दशमलव ३९ किलोमिटर सडक कालोपत्र तथा ढलान गरिएको छ भने छ दशमलव ८८ किलोमिटर सडक ग्राभेल गरिएको छ । सडक पूर्वाधारसँगै सहरी व्यवस्थापन र सार्वजनिक संरचना निर्माणलाई पनि नगरपालिकाले प्राथमिकता दिएको उनले बताए ।

गत आर्थिक वर्षमा नगर क्षेत्रमा ११ दशमलव ३६ किलोमिटर ढल निर्माण गरिएको छ । बाढी तथा नदी कटानबाट बस्ती र खेतीयोग्य जमिन जोगाउने उद्देश्यले नदी नियन्त्रणको कामसमेत अघि बढाइएको छ । कृषि उत्पादन बढाउन थप नौ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरिएको नगरपालिकाले जनाएको छ ।

सार्वजनिक तथा सामुदायिक पूर्वाधारतर्फ गत आर्थिक वर्षमा तीन वटा पार्क, १५ वटा नयाँ विद्यालय भवन र छ वटा सामुदायिक भवन निर्माण भएका छन् ।

नगरपालिकाका अनुसार हालसम्म व्यासमा एक सय ५८ दशमलव ६९ किलोमिटर सडक कालोपत्र तथा ढलान भइसकेको छ भने ३५ दशमलव ०९ किलोमिटर सडक ग्राभेल गरिएको छ । नगरका विभिन्न बस्ती तथा ग्रामीण क्षेत्रलाई सडक सञ्जालमा जोड्ने क्रममा हालसम्म ७२५ दशमलव ६७ किलोमिटर नयाँ सडकको ट्र्याक खोलिएको छ ।

व्यास नगरपालिकाभित्र हालसम्म २२ वटा मोटरेबल पुल र १५ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । त्यस्तै, नगर क्षेत्रमा हालसम्म एक सय १८ दशमलव ९५ किलोमिटर ढल निर्माण भइसकेको प्रमुख प्रशासकीय अधिकृत लम्सालले बताए ।

नदी नियन्त्रणतर्फ हालसम्म पाँच दशमलव १७ किलोमिटर काम सम्पन्न भएको छ । सिँचाइ सुविधा विस्तारतर्फ हालसम्म २४ दशमलव ०७ हेक्टर क्षेत्रफल समेटिएको छ । गत आर्थिक वर्षमा मात्रै थप नौ हेक्टरमा सिँचाइ सुविधा पुगेको हो ।

नगरपालिकाले खुला तथा मनोरञ्जनात्मक क्षेत्र विकासलाई समेत पूर्वाधार योजनामा समेटेको छ । हालसम्म व्यास नगर क्षेत्रमा १९ वटा पार्क निर्माण भइसकेका छन् ।