रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

काठमाडौं — काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्न नौ स्थानीय तह एउटै कार्यक्रममा आबद्ध भएका छन् । काठमाडौं महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँग सहकार्य गरी गत वैशाख १ गतेदेखि परीक्षणका रूपमा सञ्चालन हुँदै आएको रात्रिकालीन बस सेवालाई विस्तार गरी नियमित र दिगो रूपमा सञ्चालन गर्न स्थानीय तहले आवश्यकताअनुसार आर्थिक दायित्वसमेत वहन गर्ने भएका हुन् ।

संविधान दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, बूढानीलकण्ठ, गोदावरी, चन्द्रागिरि, कीर्तिपुर, भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमी नगरपालिकाले साझा यातायातसँग समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । साझा यातायातका तर्फबाट अध्यक्ष सुशीलराज प्याकुरेलले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

रातको समयमा आवतजावत गर्ने सर्वसाधारण, व्यवसायी, उद्यमी, श्रमिक, अस्पताल जाने बिरामी तथा आन्तरिक र बाह्य पर्यटकलाई सहज, सुरक्षित तथा भरपर्दो यातायात सेवा उपलब्ध गराउने उद्देश्यले रात्रिकालीन बस सेवा विस्तार गरिएको हो ।

समझदारीपछि छ वटा रुटमा ३० वटा बस सञ्चालनमा ल्याइएको छ । विस्तारित सेवाअन्तर्गत जगाती–सूर्यविनायक हुँदै ठमेलसम्म छ वटा, साविक लगनखेल–बूढानीलकण्ठ रुटलाई विस्तार गरी गोदावरीसम्म छ वटा, चक्रपथमा घडीको दिशामा र विपरीत दिशामा गरी आठ वटा, कीर्तिपुर–जमल चार वटा, टाखेल–ठमेल दुई वटा तथा साविक नागढुङ्गा–विमानस्थल रुटमा चार वटा बस सञ्चालन गरिनेछ ।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले रात्रिकालीन बस सेवालाई परीक्षणबाट विस्तारको चरणमा पुर्‍याइएको बताए । उनका अनुसार सुरुमा दुई वटा रुटमा सञ्चालन गरिएको सेवा अहिले चार वटा रुट थपेर छ वटामा विस्तार गरिएको हो ।

“परीक्षणकालमा अभ्यास गरिएको दुई वटा रुटमा चार वटा थपेका छौँ । सात वटा गाडीलाई ३० वटा पुर्‍याएका छौँ । चार वटा नगरपालिकाको सहकार्यमा नौ वटा पुगेका छौँ,” उनले भने, “यसलाई अझ विस्तार गर्ने र आवश्यकताका आधारमा आर्थिक दायित्व पनि वहन गर्ने गरी सहकार्य थालेका छौँ । अब यो सेवा रोकिँदैन । निरन्तर र दिगो रूपमा चल्छ ।”

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उपत्यकाको यातायात सहज बनाउन स्थानीय तहबाट सञ्चालन गर्न सकिने प्रणालीमा सहकार्य सुरु गरिएको बताए । सङ्घीय तहबाट मेट्रो वा बस र्‍यापिड ट्रान्जिटजस्ता ठूला सार्वजनिक यातायात प्रणाली सञ्चालनमा आउन नसकेको अवस्थामा स्थानीय तहले आफ्नै स्तरबाट पहल गर्नुपर्ने उनको भनाइ थियो ।

उनकाे रातको समयमा सुरक्षित आवतजावतका लागि रात्रिकालीन बस सेवा सुरु हुनु नागरिकसँग प्रत्यक्ष जोडिएको सेवा भएको बताए ।

साझा यातायातका अध्यक्ष सुशीलराज प्याकुरेलले स्थानीय तहलाई साझाको अभिभावकका रूपमा जोड्न पाउनु संस्थाका लागि महत्वपूर्ण भएको बताए ।

यसअघि लगनखेल–बूढानीलकण्ठ र नागढुङ्गा–विमानस्थल रुटमा राति ८ बजेदेखि ११ बजेसम्म सात वटा बसमार्फत नमुना सेवा सञ्चालन गरिएको थियो । सेवाको प्रभाव, मूल्याङ्कन तथा लाभ–लागत विश्लेषणपछि यात्रुबाट हुने आम्दानीभन्दा सेवा विस्तारलाई प्राथमिकता दिने निष्कर्ष निकालिएको थियो ।

समझदारीअनुसार रात्रिकालीन बस सञ्चालनको खर्च यात्रुबाट प्राप्त टिकट आम्दानीले नपुगेमा अपुग रकमको ५० प्रतिशत सम्बन्धित सात नगरपालिकाले समान रूपमा व्यहोर्नेछन् । बाँकी ५० प्रतिशत रकम सम्बन्धित नगरपालिकाको जनसङ्ख्याका आधारमा काठमाडौं महानगरपालिकाले १८ दशमलव ५५ प्रतिशत, ललितपुर महानगरपालिकाले १८ दशमलव ५५ प्रतिशत तथा अन्य सात नगरपालिकाले नौ–नौ प्रतिशतका दरले व्यहोर्ने सहमति भएको छ । सेवा सञ्चालनका लागि खर्च अपुग भए साझा यातायातले त्रैमासिक रूपमा रकम माग गर्ने व्यवस्था गरिएको छ ।

बस चढ्ने र ओर्लने स्थान सम्बन्धित नगरपालिकाले निर्धारण गर्नेछन् । ती स्थानमा आर्थिक वर्ष २०८३/८४ भित्र डिजिटल साइनेज बोर्डसहित डिजिटल बस स्टप निर्माण तथा सञ्चालन गर्ने जिम्मेवारी साझा यातायातलाई दिइएको छ । यसका लागि सम्बन्धित स्थानीय तहले आवश्यक समन्वय तथा सहजीकरण गर्नेछन् ।

त्यस्तै, निर्धारित रुटको अन्तिम बिन्दुमा बस चार्जिङ स्टेसन निर्माणका लागि सम्बन्धित नगरपालिकाले आवश्यक जग्गा उपलब्ध गराउने र साझा यातायातले चार्जिङ स्टेसन जडान गर्ने सहमति भएको छ । चार्जिङ स्टेसनको सुरक्षाको जिम्मेवारी भने सम्बन्धित नगरपालिकाले लिनेछन् ।

रात्रिकालीन सेवाको माग र यात्रुको चाप बढ्दै गएमा भविष्यमा अन्य क्षेत्रमा समेत सेवा विस्तार गर्न सकिने समझदारीमा उल्लेख छ । चक्रपथमा सेवा सञ्चालन भएपछि यात्रुले एक ठाउँमा बस परिवर्तन गरेर उपत्यकाका विभिन्न क्षेत्रमा पुग्न सक्नेछन् । यसरी यात्रा गर्दा अधिकतम रु ८० भाडा लाग्ने बताइएको छ ।

टिकट बिक्रीमा हुने आर्थिक चुहावट नियन्त्रण गर्न साझा यातायातले असोज १ गतेदेखि डिजिटल टिकटिङ प्रणालीसमेत सञ्चालनमा ल्याएको छ । यात्रुले क्यूआरमार्फत वा नगद भुक्तानी गरेर टिकट लिन सक्ने व्यवस्था गरिएको छ । डिजिटल प्रणालीबाट आर्थिक चुहावट घट्ने र त्यसबाट सेवामा हुने घाटासमेत कम हुने अपेक्षा गरिएको छ ।

साझा यातायातमा नेपाल सरकारको रु तीन अर्ब तथा काठमाडौं महानगरपालिकाको रु १५ करोड शेयर लगानी रहेको छ । हाल साझा यातायातसँग एक सय ११ वटा बस सञ्चालनमा रहेका छन् ।