आठ करोडको लागतमा धवलागिरिको प्रशासकीय भवन अन्तिम चरणमा

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । गाउँपालिका–३ घट्टेखोलामा करिब रु आठ करोडको लागतमा निर्माण भइरहेको सुविधासम्पन्न प्रशासकीय भवनको भौतिक प्रगति ८८ प्रतिशत पुगेको छ ।

विसं २०७९ देखि निर्माण सुरु भएको भवनको बाँकी काम सम्पन्न गरी जतिसक्दो छिटो नयाँ भवनबाटै कार्यालय सञ्चालन गर्ने तयारी भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलले बताए ।

स्थानीयवासीले घट्टेखोलामा १४ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएपछि गाउँपालिकाले सङ्घीय सरकारसँगको साझेदारीमा प्रशासकीय भवन निर्माणको योजना अघि बढाएको थियो । यसअघि गाउँपालिकाले साविकको मुना गाविसको भवनमा तला तथा कोठा थप गरी प्रशासनिक सेवा प्रवाह गर्दै आएको थियो ।

आर्थिक वर्ष २०७९/८० मा प्रतिष्ठा–जुम्ली–माछापुच्छ्रे जेभीसँग रु सात करोड ७१ लाख ८९ हजार ६६६ मा भवन निर्माणको ठेक्का सम्झौता भएको थियो । निर्माण सामग्रीको मूल्यवृद्धि तथा सङ्घीय सरकारले भुक्तानी गर्नुपर्ने करसम्बन्धी दायित्वको रकम समयमा प्राप्त हुन नसक्दा निर्माणमा ढिलाइ भएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए।

म्याग्दीका पाँच गाउँपालिकामध्ये प्रशासकीय भवन निर्माण गर्ने पहिलो गाउँपालिका बन्न लागेको धवलागिरिको नयाँ भवन तीनतले हुनेछ । भवनमा २७ वटा कोठाका साथै एक–एक वटा सभाहल र बैठक कक्ष निर्माण भइरहेको छ ।

प्रशासकीय भवन निर्माणसँगै गाउँपालिकाका विभिन्न वडामा वडा कार्यालय, स्वास्थ्य चौकी तथा सामुदायिक भवन निर्माणले पनि तीव्रता पाएको छ । धवलागिरि–७ ताकममा पाँच शय्या क्षमताको आधारभूत अस्पताल निर्माणाधीन अवस्थामा छ । गुर्जा, मल्कबाङ, मुना र मुदीमा स्वास्थ्य चौकीका नयाँ भवन निर्माण भइसकेका छन् । लमसुङ र मराङमा यसअघि नै स्वास्थ्य चौकीका भवन निर्माण भएका थिए ।

सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउन धवलागिरि–२ लुलाङ, धवलागिरि–४ मुदी, धवलागिरि–६ मराङ र धवलागिरि–७ ताकममा नयाँ वडा कार्यालय भवन निर्माण भइसकेका छन् । उपाध्यक्ष रेशम पुनमगरका अनुसार धवलागिरि–५ मल्कबाङमा गाउँपालिकाले निर्माण गरेको बहुउद्देश्यीय सामुदायिक भवनबाट समेत सेवा प्रवाह भइरहेको छ ।

गाउँपालिकाले धवलागिरि–१ गुर्जामा पनि वडा कार्यालयको नयाँ भवन निर्माण गर्ने योजना बनाएको उपाध्यक्ष पुनमगरले बताए । नयाँ प्रशासकीय भवन तथा वडा कार्यालय, स्वास्थ्य र सामुदायिक पूर्वाधार निर्माणसँगै गाउँपालिकाको सेवा प्रवाहका लागि आवश्यक भौतिक संरचना विस्तार हुँदै गएको उहाँको भनाइ छ।