त्रिपुरेश्वरमा रोकिराखेको बसमा आगलागी, चालक गम्भीर घाइते

काठमाडौं – काठमाडौंको त्रिपुरेश्वरस्थित बस बिसौनीमा रोकिराखेको बसमा आगलागी हुँदा चालक गम्भीर घाइते भएका छन्।

त्रिपुरेश्वर चोकस्थित बस स्टपअगाडि रोकिराखेको ऋद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा सोमबार आगलागी भएको हो। आगलागीमा बसका चालक काभ्रे, पनौतीका २५ वर्षीय दावा लामा घाइते भएका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बसमा आगलागी भएको पुष्टि गर्दै चालक घाइते भएको जानकारी दिए। उनका अनुसार घाइते लामालाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको थियो।

आगलागीबाट गम्भीर घाइते भएका लामालाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको जिल्ला प्रहरी परिसर, भद्रकालीका डीएसपी राजेश थापाले जानकारी दिए। उनका अनुसार आगलागीपछि उद्धार गर्ने क्रममा लामा अचेत अवस्थामा भेटिएका थिए।

घटना हुँदा बसमा यात्रु भने नरहेको प्रहरीले जनाएको छ। चालक बसभित्रै रहेका बेला आगलागी भएकाले घटना शङ्कास्पद देखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार लामाले आफैँ बसमा आगो लगाएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि, उनले नै आगो लगाएको भन्ने पुष्टि भइसकेको छैन। आगलागीको वास्तविक कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।