थुलुङ दूधकोसीका अध्यक्षले आफ्नै लगानीमा एमबिबीएस पढाउने

सल्लेरी, माघ १३ गते । सोलुखुम्बु जिल्लाको थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष अशिम राईले आफूले पाउने तलब सुविधाबाट एक विद्यार्थीलाई एमबिबीएस पढाउनुहुने भएको छ । उहाँले खर्च अभावले पढ्न नपाएका गरिब तथा जेहेन्दार विद्यार्थीलाई एमबिबीएस पढाउने निर्णय गर्नुभएको हो ।

स्थानीय तहको निर्वाचनमा थुलुङ दूधकोशीबाट दोस्रो कार्यकालका अध्यक्षमा विजयी भएपछि राईले उक्त निर्णय गर्नुभएको छ । उहाँले यही माघ १२ गते सूचना जारी गर्दै छात्रवृत्तिका लागि आवेदन दिन आह्वान गर्नुभएको छ ।

अध्यक्ष राईले गाउँपालिका भित्रका इच्छुक विद्यार्थीले सम्बन्धित विषयको प्रवेश परीक्षा उत्तीर्ण गरी गाउँपालिकामा १५ दिनभित्र आवेदन दिन आग्रह गर्नुभएको छ ।