आजको प्रतिनिधिसभाको बैठकमा सम्भावित दुई कार्यसूची

काठमाडौं, चैत १५ गते । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सम्भावित दुई कार्यसूची रहेका छन् ।

संसद सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/७९) पेस गर्नुहुने पहिलो कार्यसूची रहेकोछ ।

दोस्रो कार्यसूचीमा अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ छ । यो विधेयकमाथि विचार गरियोस् भनी सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रस्ताव पेस गर्नुहुनेछ ।

गत पुस २५ गतेदेखि प्रतिनिधि सभाको पहिलो अधिवेशन सुरु भए पनि सरकारले विजनेस दिन सकेको छैन । यो अवधिमा जम्मा तीनवटा विधेयक दर्ता भएका छन् ।