हुम्ला अस्पतालमा औषधि अभाव, उपचारमा समस्या

हुम्ला, चैत १८ गते । हुम्ला सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालमा औषधि अभाव भएको छ । यहाँ तीन महिनादेखि औषधि अभाव हुँदा जटिल रोगका बिरामीको उपचारमा समस्या भएको छ ।

अस्पतालमा ९८ प्रकारका औषधि हुनुपर्नेमा हाल २५ प्रकारका मात्र रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रेम सिंहले बताउनुभयो । “जिल्ला अस्पतालको औषधि स्टोर कक्ष तीन महिनादेखि रित्तै छ । प्रदेश सरकारले खरिद प्रक्रियामा ढिलाइ गर्दा औषधि अभाव भएको हो”, उहाँले भन्नुभयो । प्रमुख सिंहका अनुसार उपचार गर्न आउने अधिकांश बिरामी औषधि नपाएर रित्तै फर्किने गरेका छन् । सिमकोट र नाम्खा गाउँपालिकास्थित स्वास्थ्य चौकीबाट सापटी मागेर बिरामीको उपचार गर्नु परेको उहाँको भनाइ छ ।

प्रदेश सरकारलाई औषधि अभावबारे पटक–पटक जानकारी गराएको भए पनि हालसम्म सुनुवाइन नभएको प्रमुख सिंहले बताउनुभयो । दुई–तीन पटक मन्त्रालयमा गएर यसबारे जानकारी गराउँदा पनि सुनुवाइ नभएको उहाँको भनाइ छ । पन्ध्र शय्याको जिल्ला अस्पतालमा यसबाट बिरामी मारमा परेका छन् ।

रुघाखोकीका बिरामी बढ्दै

जिल्ला अस्पतालमा रुघाखोकी र श्वासप्रश्वासका बिरामीको सङ्ख्या बढ्न थालेको छ । मौसममा एक्कासी आएको परिवर्तनका कारण बिरामी दैनिक बढिरहेका अस्पतालका सिनियर अनमी सरीता बोहराले बताउनुभयो ।

“दैनिक ८० देखि ९० सम्म बिरामी उपचारका लागि आउने गरेका छन् । जटिल प्रकृतिका बिमारीलाई भर्ना गरेर राख्नुपर्ने भए पनि शय्याको अभाव हुन थालेको छ”, उहाँले भन्नुभयो । सङ्ख्या बढेपछि भुुइँमा राखेर बिरामीको उपचार गर्नुपरिरहेको बोहराले बताउनुभयो ।

प्रदेश सरकारबाट उपलब्ध रू १० लाख बराबरको औषधि दुई महिनाभन्दा बढी समयलाई नपुग्ने अस्पतालका स्टोरकिपर मनिकृष्ण जैसीले बताउनुभयो । बजेट अभावका कारण औषधि खरिद गर्न नसकिएको उहाँले बताउनुभयो ।