चौदण्डीगढी नगरका मेयरको सचिवालयमा कार्यरत कर्मचारीले घुस मागेको अडियो सार्वजनिक

उदयपुर, चैत ३० गते । चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाको सचिवालयमा कार्यरत कर्मचारीको घुस रकम मागेको अडियो सार्वजनिक भएको छ ।

सचिवालयमा कार्यरत कर्मचारी देवप्रकाश राईले नगरपालिकामा जागिर लगाइदिन्छु भनेर एक व्यक्तिसँग डेढ लाख रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएको हो । अडियोमा गुड्डुकुमारी मण्डलले आफूसँग अहिले ५० हजार रुपैयाँ रहेको बाँकी पैसा १० दिनभित्र दिने बताउनुहुन्छ । तर राईले पुरै पैसा दिनुपर्ने अडान लिनुभएको छ ।

नगरपालिकाले नगरअस्पतालका लागि कम्‍प्युटर अपरेटर, ल्याब असिस्टेन्ट अनमी, अहेबलगायत करारमा नियुक्तिका लागि विज्ञापन गरेको थियो । उक्त विज्ञापनमा अनमीमा नाम निकालिदिने भन्दै राईले घुस मागेका हुन् । राईले भने सबै पैसा जम्मा गर्नेवित्तिकै फाइनल हुने बताउनुभएको छ ।

चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले छानबिनका लागि राईलाई सेवाबाट हटाएको जानकारी दिनुभयो । ‘हामीले तत्काल छानबिनका लागि उहाँलाई हटाएका छौं, उहाँले भन्नुभयो, आज कार्यपालिका बैठक बस्दैछौं । सत्यतथ्य छानबिन गरेर दोषीमाथि कारबाही गर्छौं’ उहाँले भन्नुभयो ।

नगर प्रमुख राईले बिहीबार विज्ञप्ति पनि निकाल्नुभएको छ । जसमा उहाँले नगरबासीको विश्वासको आँच आउने किसिमका कुनै पनि काम हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।