स्याउको बोटमा कम फल, यस वर्ष उत्पादन घट्ने चिन्तित

म्याग्दी, असार १८ गते । मुस्ताङको मुख्य बाली मध्येको एक स्याउको उत्पादन यस वर्ष निकै गिरावट आउने देखिएको छ । स्याउको बोटमा कम फल लागेपछि उत्पादनमा कमी आउने भन्दै किसानहरू चिन्तित बनेका छन् ।

मुस्ताङको शीतोष्ण बागवानी विकास केन्द्र मार्फामा रहेको स्याउ बगानमा पनि निकै न्यून मात्रामा स्याउको दाना लागेको छ । हिउँदमा हिउँ नपर्दा स्याउलाई चाहिने न्यूनतम तापक्रम पुग्न सकेन जसका कारण यहाँ लगाइएका धेरै चिस्यान चाहिने स्याउका जातहरू राम्रोसँग फुल्न सकेनन् । यसका साथसाथै फूल खेल्ने समयमा लगातार पानी पर्दा राम्रोसँग पराग सेसन हुन नपाउँदा फल लागेका छैनन् ।

स्याउमा राम्रोसँग फूल खेलेको थियो तर त्यही समयमा झन्डै हप्ता देखि दश दिनसम्म झरी पर्दा पराग सेसन हुन पाएन त्यसैले दाना कम लाग्यो–शीतोष्ण बागवानी विकास केन्द्रका निमित्त प्रमुख पद्मनाथ आत्रेयले बताउनुभयो । फूल खेलेको समयमा माहुरी, भमरा एवम् अन्य किराहरूले फूलको रस लिन आउने समयमा पराग सेसन हुन्थ्यो तर बोटमा फूल रहने बेलासम्म पानी परि रहेकाले गर्दा पराग सेचन हुन पाएन र स्याउको दाना नै राम्रो सँग लाग्नै पाएन उहाँले सुनाउनुभयो ।

मुख्य रूपमा स्याउमा कम फल लाग्नुको कारण भनेको समयमा हिउँ नपर्नु हो । शीतोष्ण हावापानीमा हुने फलफूल जस्तै स्याउका लागि झन्डै एक हजार देखी सोह्र सय घण्टा सम्मको चिलिङ आवर चाहिन्छ । त्यसका लागि हिउँ पर्यो भने निकै राम्रो हो तर यस वर्ष जुन समयमा हिउँ पर्नु पर्ने हो त्यो समयमा हिउँ नपर्दा उत्पादनमै नकारात्मक असर देखिएको छ घरपझोङ गाउँपालिका–५, ढुम्बाका स्याउ खेती गर्ने अगुवा कर्म गुरुङले सुनाउनुभयो ।

चाहिने बेलामा न त पानी पर्यो न त हिउँ पर्यो नचाहिएको बेलामा पानी पर्दा स्याउ फलेन उहाँले भन्नुभयो । फूल खेल्ने बेलामा माहुरी आउनै पाएन त कसरी स्याउ फल्छ ? गत वर्ष दुई करोड भन्दा माथि मूल्यको स्याउ बिक्री गर्नुभएका कर्माले यस वर्ष गत वर्षको तुलनामा आधा मात्रै फल लागेको बताउनुहुन्छ ।

पछिल्लो समय हिमालपारिका जिल्ला मुस्ताङमा माहुरी पालन पनि कम हुन थालेकोले पनि पराग सेसनको समयमा माहुरी कम हुने गरेको स्थानीयको भनाई छ । फूल खेल्ने बेलामा लामो समय सम्म पानी पर्दा स्याउको उत्पादन यो वर्ष गत वर्षको तुलनामा आधा भन्दा पनि बढी कम देखिएको टुकुचेका कृषक निरोज तुलाचनले बताउनुभयो । उहाँ भन्नुहुन्छ गत वर्ष ३१ टन स्याउ विक्री गरेको थिएँ मैले तर यो वर्ष त्यसको आधा पनि पुग्छ पुग्दैन भन्न सक्ने अवस्था छैन । गोरखापत्र दैनिक