व्यावहारिक र गुणस्तरीय शिक्षा मुलुक विकासको आधार : सभामुख घिमिरे

काठमाडौं, असार ३१ गते । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले व्यवहारिक र गुणस्तरीय शिक्षा दिन सक्ने मुलुकले मात्रै समृद्धि हासिल गर्न सक्ने भएकाले शिक्षा सुधारका लागि प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
   ‘केन्द्रविन्दू डटकम’ले आज यहाँ आयोजना गरेको शैक्षिक अवार्ड कार्यक्रममा सभामुख घिमिरेले समाजको विकासका सन्दर्भमा जुनरुपमा शिक्षाको विकास हुनुपर्ने थियो त्यसरुपमा हुन नसकेको कुरा आएको सन्दर्भमा उत्कृष्ट शिक्षा सेवा दिने शिक्षालय र व्यक्तिलाई प्रोत्साहित गर्दै आपसी हातेमालो गरेमा शैक्षिक विकासमा योगदान पुग्न सक्ने उल्लेख गर्नुभयो ।
     ‘‘हामीले प्राप्त गरेको ज्ञान र  ज्ञानको हस्तान्तरण गर्दै शैक्षिक विकास र व्यवाहारिक शिक्षाका माध्यमबाट मुलुकले समृद्धि हासिल गर्न सक्छ ।’’, उहाँले भन्नुभयो, ‘‘कानून र नीति निर्माण गर्ने सन्दर्भमा संसद्को भूमिकाका लागि मेरो सँधै सकारात्माक भूमिका हुने हुनेछ ।’’
कार्यक्रममा सरकारका मुख्यसचिव डा वैकुण्ठ अर्यालले शैक्षिक विकास तथा  नीतिगत सुधार र कार्यान्वयनमा सम्बन्धित सरोकारवालाबाट साझा पहल हुनुपर्नेमा जोड दिनुभयो । मुख्यसचिव अर्याल, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्मा, शिक्षाविद् डा सुरेशराज शर्मालगायतले विभिन्न शिक्षालय र शिक्षाकर्मीलाई सो अवसरमा सम्मान गर्नुभएको थियो ।