अब पशुधन र माछाको पनि बीमा हुने

काठमाडौं, साउन १ गते । अब पशुधन तथा माछाको पनि बीमा हुने भएको छ । नेपाल बीमा प्राधिकरणले छुट्टाछुट्टै बीमालेख जारी गरेकोले पशुधन र माछाको बीमा हुने भएको हो ।

प्राधिकरणले पशुधन तथा माछा बीमालेख संशोधन स्वीकृत गरेको छ । संशोधित बीमालेख आजदेखि लागु हुने भएको छ । प्राधिकरणको गत जेठ ३० मा सो बीमालेख संशोधन स्वीकृत गर्ने निर्णय गरेको थियो । पशुधन बीमाले ७ प्रकारका घटनामा हुने क्षति तथा नोक्सानीको रक्षावरण गर्नेछ ।

प्राधिकरणका अनुसार पशुधन बीमालेख अनुसार पशुधनमा अग्निजन्य, हावाजन्य, पानी, भुमी, चट्याङ, रोगजन्य र आकस्मिक तथा दुर्घटनाजन्य कारणहरुबाट हुने क्षतिको सुरक्षा प्रदान गर्नेछ । यस्तै, माछा पालनमा हुने क्षति विरुद्ध बीमा गर्नको लागि माछा बीमालेख जारी भएको हो ।

सो बीमालेख अनुसार बीमा अवधि भित्रै माछा पालनमा अग्निजन्य, हावाजन्य, पानीजन्य, भुमीजन्य, चट्याङ्जन्य, रोगजन्य र आकस्मिक तथा दुर्घटनाजन्य कारणहरुबाट हुने क्षतिको सुरक्षा प्रदान गर्ने प्राधिकरणले जनाएको छ ।

पशुधन तथा माछा बीमालेखमा अतिरिक्त सुविधा अन्तर्गत २ लाख रुपैयाँसम्मको दुर्घटना बीमा रहेको प्राधिकरणले जनाएको छ । जुन, बीमा अवधि भित्र आत्महत्या बाहेकको सुविधा हो । आत्महत्या बाहेक अन्य कुनै पनि दुर्घटनाको कारणले मृत्यु भएमा, स्पाइनल इन्जुरीको कारण पुनः ठीक नहुने गरी हड्डी काम नलाग्ने भएमा बीमितले सो सुविधा पाउनेछन् । यसका साथै कुनै हात खुट्टा काम नलाग्ने भएमा र दुईवटै आँखाको दृष्टि गुमेमा मात्रै बीमितले यो सुविधा पाउने प्राधिकरणले जनाएको छ ।

पशुधनको बीमा गर्दा ५ प्रतिशतका दरले बीमा शुल्क लाग्ने छ । यस्को बीमाकं रकमको ५ प्रतिशत प्रिमियम लाग्ने उल्लेख छ । दुर्घटना बीमाबापत बीमा शुल्क प्रतिबीमित ५०० रुपैयाँ लाग्ने छ । पशुधन बीमा सामूहिक रुपमा गर्न सकिने छ । बीमितले बीमाशुल्क भुक्तानी गरेको रकम बैंक खातामा जम्मा भएको प्रमाण बीमकले प्राप्त नगरेसम्म बीमालेख जारी गर्न नपाइने व्यवस्था रहेको छ । यस्तै, माछाको बीमा न्युनतम तीन महिनादेखि अधिकतम एक वर्षसम्मका गर्न सकिनेछ ।

सो बीमालेख बमोजिम माछाको बीमा शुल्क ३ प्रतिशतका दरले लाग्नेछ । प्रजनन् प्रयोजनका लागि पालिएको माछाको बीमा गर्दा भने वजन १२ केजी बढी हुनु हुँदैन । यस्तै, सो बीमालेखमा उल्लेख भएको दुर्घटनामा बीमाबापत बीमा शुल्क प्रति बीमित ५०० रुपैयाँ लाग्नेछ ।

माछाको आंशिक बीमा गर्न नपाइने व्यवस्था रहेको छ । माछा बीमा सामूहिक रुपमा गर्न सकिने छ । बीमितले बीमाशुल्क भुक्तानी गरेको रकम बैंक खातामा जम्मा भएको प्रमाण बीमकले प्राप्त नगरेसम्म बीमालेख जारी गर्न नपाइने व्यवस्था रहेको छ ।