काठमाडौंको फोहोर बिसर्जनमा पुनः स्थानीयको अबरोध

काठमाडौं, साउन १ गते । काठमाडौंको फोहोर बिसर्जनमा स्थानीयले पुनः रोक लगाएका छन् । नुवाकोटको ककनी र धादिङको धुनीबेंसीका बासिन्दाले यसअघि सरकार र काठमाडौं महानगरसँग भएका सहमति एक वर्ष हुँदा पनि कार्यान्वयन नभएको भन्दै फोहोर विसर्जन गर्न रोक लगाएका हुन् ।

सोमबार बिहान फोहोर बोकेर ल्याण्डफिल्ड साइटमा जाँदै गरेका गाडीहरु स्थानीयको अवरोधका कारण बन्चरेडाँडा र सिसडोलको बिचमा रोकिएका महानगरपालिकाका ल्याण्डफिल्ड साइट इन्चार्ज सरकारदीप श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले फोहोर बोकेका करिब ५० वटा गाडी स्थानीयले रोकेको बताउनुभयो ।उहाँका अनुसार स्थानीयले सहमतिका नाममा आफूहरुलाई पटक–पटक झुक्याइएको आरोप लगाएका छन् ।

सरकारले यसअघि गल्ने र नगल्ने फोहोर वर्गीकरण गरेर गल्ने फोहोर मात्र विसर्जन गर्नेलगायतका सहमति ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका बासिन्दासँग गरेको थियो । तर अहिले महानगरले वर्गीकरणविना फोहोर संकलन गर्दै आएको छ ।