मैवाखोला पहिरो विस्थापितलाई एकीकृत बस्ती निर्माण

ताप्लेजुङ, साउन १४ गते । मैवाखोला गाउँपालिकाले पहिराबाट विस्थापित परिवारका लागि एकीकृत बस्ती निर्माण थालेको छ । पहिरोबाट उच्च जोखिम बस्तीलाई सुरक्षित स्थानमा एकीकृत बस्ती निर्माण प्रक्रिया सुरु भएको हो ।

गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले तीन दिनमा १५ अस्थायी घर निर्माण भइसकेको बताउनुभयो । उहाँले निर्माण तीव्रगतिले अघि बढेको बताउँदै यसलाई अझ प्रभावकारी र छिटो सम्पन्न गर्न मैवाखोलामा गठन तथा दर्ता भई सञ्चालनमा रहेका टोल विकास संस्थाको भूमिका महत्त्वपूर्ण भएकाले सबै टोल विकास संस्थाले आफ्ना सदस्यलाई परिचालन गर्न आग्रहसमेत गर्नुभएको छ ।

विपद्को समयमा एकापसमा सहयोग गरेर पैचो लगाइराख्न र भोलि आफूलाई पर्दा पनि बिर्सने छैनन् भन्ने सोचका साथ सहयोगमा जुट्न मैवाखोलावासीसँग आग्रहसमेत गर्नुभएको छ । उहाँले बाढीपहिरो पीडितलाई स्थानान्तरण गर्न अस्थायी घर निर्माण स्वःस्फूर्तरूपमा सहभागी हुन र सोका लागि टोल विकास संस्थाले जनश्रमदानमा आउँदा अध्यक्षसँग समन्वय गर्नसमेत अनुरोध गर्नुभएको छ ।

गाउँपालिकाका अनुसार जोखिममा रहेका ओदक क्षेत्रका ६४ घरपरिवारलाई मैवाखोला गाउँपालिका वडा नं ३ मा रहेको मदन भण्डारी रङ्गशालामा अस्थायी एकीकृत बस्ती बनाई स्थानान्तरण गर्ने योजनाका साथ काम भइरहेको मैवाखोला गाउँपालिकाका प्रविधिक शाखाले जनाएको छ ।

गत असार २ गते राति आएको पहिराका कारण ओदकका घर जोखिममा परेका हुन् । पालिकाले बस्ती निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थ स्वेच्छिकरूपमा उपलब्ध गराउन आग्रह गरेको छ । चौसठ्ठी घरपरिवारलाई एकीकृत बस्ती निमार्ण गर्न करिब रु एक करोड खर्च लाग्ने मैवाखोला गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनले बताउनुभयो । उहाँका अनुसार अबको करिब एक महिनासम्ममा एकृकीत बस्ती निर्माण सम्पन्न हुने छ ।