पशुजन्य महामारी फैलिएको अवस्थामा धनगढी प्रयोगशालाको सेवा बन्दा भएपछि…..

कैलाली, साउन १६ गते । बजेट अभावमा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीको सेवा बन्द भएको छ । सरकारले चालु वर्षमा सो प्रयोगशालाका लागि शून्य बजेट विनियोजन गरेपछि दिँदै आएको सेवा आजबाट बन्द भएको हो ।

प्रयोगशालाका प्रमुख डा नरेश जोशीका अनुसार नेपाल सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यमा कृषि तथा पशुसम्बन्धी प्रयोगशाला, फर्म केन्द्र र स्रोत केन्द्रलाई प्रदेशमा हस्तान्तरण गर्ने भनी उल्लेख भई पशुसेवा विभागअन्तर्गतका केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, केन्द्रीय रिफरल पशु चिकित्सालयलगायतका अत्यावश्यक सेवा पु¥याउने निकायको बजेट विनियोजन शून्य पारेको छ ।

“कार्यालयमा पानी पिउन, मास्क लगाउन, किट खरिद गर्नसमेत बजेट नभएको डा जोशीले बताउनुभयो । “पशुजन्य रोगको महामारी फैलिएको अवस्थामा प्रयोगशालाले सेवा बन्दा गर्दा सेवाग्रहीलाई मर्क परेको उहाँको भनाई छ ।

पशुपक्षीका विभिन्न महामारीजन्य रोगको अन्वेषण र निदानका लागि किसानलाई सेवा प्रवाह गर्दै आएको सुदूरपश्चिम प्रदेशको एकमात्र यो कार्यालयको बजेट शून्यमा झारेपछि बाध्य भएर सेवा बन्द गर्नुपरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,“आवश्यक बजेट अभावमा कार्यालयको सेवा नचाहँदा नचाहँदै पनि बन्द गर्नुपरेको छ, यसको जानकारी प्रमुख जिल्ला अधिकारीलाई गराएका छौँ ।”