काभ्रेका छ स्थानीय तहमा डेङ्गु सङ्क्रमण

काभ्रेपलाञ्चोक, साउन २३ गते । जिल्लाका छ स्थानीय तहमा डेङ्गुको सङ्क्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले छ तहमा सात जना डेङ्गु सङ्क्रमित पुष्टि भएको जनाएको छ ।

कार्यालयका अनुसार नमोबुद्ध नगरपालिकामा एक पुरुष र एक महिलाका साथै बनेपा, पनौती, पाँचखाल, मण्डनदेउपुर र रोशी गाउँपालिकामा एक÷एक जनामा डेङ्गुको सङ्क्रमण पुष्टी भएको हो । सङ्क्रमितमध्ये पाँच पुरुष र दुई महिला रहेको कार्यालय प्रमुख डा पुरुषोत्तम सेढाइले बताउनुभयो । उहाँका अनुसार सङ्क्रमित सबै विभिन्न अस्पतालमा उपचाररत छन् ।

काभ्रेपलाञ्चोकमा यसअघि छ सय ८० डेङ्गुबाट सङ्क्रमित भइसकेका छन् । डेङ्गुको उच्च जोखिमका रुपमा रहेको काभ्रेपलाञ्चोकमा प्रत्येक शुक्रबार ‘खोज र नष्ट गर’ अभियान सञ्चालन भइरहेको छ ।

हाल जिल्लाका १३ वटै स्थानीय तहमा उक्त अभियान सञ्चालन भएको कार्यालयले जनाएको छ । डेङ्गुको उच्च जोखिमका नेपालका १० जिल्लामध्येमा काभ्रेपलाञ्चोक पनि समावेश छ ।