प्रविधिमैत्री विद्यालय बनाइँदै

अर्घाखाँची, साउन २४ गते । सन्धिखर्क नगरपालिका वडा नं. २ शङ्खेटारी स्थित भगवती माध्यमिक विद्यालयलाई प्रविधिमैत्री बनाउन २२ लाख मूल्य बराबरको सामग्री हस्तान्तरण गरिएको छ ।

विद्यालयका पूर्व विद्यार्थीको पहलमा सूर्य नेपाल नामको सस्थाले कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका ती मूल्य बराबरका सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन तथा समय सापेक्ष शिक्षा प्रदान गर्नका लागि विद्यालयका पूर्व विद्यार्थी सरकारका सहसचिव बाबुराम गौतम, कानुन उपसचिव हरिहर पौडेल, पूर्व विद्यार्थी नारायण गौतम, अनिल भुसाल लगायतको पहलमा उक्त सामग्री विद्यालयलाई प्रदान गरियो ।

आफुले पढेको विद्यालयमा केही सहयोग गर्नुपर्छ भन्ने मान्यताका साथ र सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण वृद्धि गर्न प्रविधीमैत्री सामग्री हस्तान्तरण गरिएको विद्यालयका पूर्व विद्यार्थी तथा सामग्री ल्याउन पहल गरेका बाबुराम गौतमले बताउनुभयो ।

फ्लाक्स बोर्ड, क्यामेरा, पाँच वटा डेक्सटप कम्प्युटर, चार वटा प्रिन्टर, चारवटा ल्यापटप, दुईवटा टिभी, एक वटा इन्भटर र एक वटा इन्भटरको ब्याट्री लगायतका सामग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर भुसाल र विद्यालयका प्रधनाध्यापक धु्रव केसीलाई हस्तान्तरण गरिएको छ ।

पूर्व विद्यार्थीको पहलमा विद्यालयमा अत्यावश्यक सामग्री प्राप्त भएको र यसले विद्यालयको पठनपाठनमा धेरै सजिलो हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर भुसालले बताउनुभयो । उहाँले प्रविधिको प्रयोग गरेर विद्यार्थीलाईृ अध्यापन गराउन सहयोग पुग्ने र विद्यालयको गणस्तरमा पनि वृद्धि हुने अपेक्षा रहेको बताउनुभयो ।

पछिल्लो समयमा सामुदायिक विद्यालयको गुणस्तर खस्किरहेको समयमा पनि यस विद्यालय जिल्लामै सामुदायिक विद्यालयमध्ये उत्कृष्ट विद्यालयको सूचीमा पर्ने गर्दछ । यो विद्यालय गत वर्षको एसईइ परीक्षाको नतिजामा सामुदायिक विद्यालय तर्फ प्रथम स्थान हासिल गर्न सफल भएको विद्यालयका शिक्षक शोभाखर पन्थीले जानकारी दिनुभयो ।

शिक्षाका कारण बसाइँसराइ बढेर गाउँका सामुदायिक विद्यालय खाली हँुदै गइरहेका छन् । सामुदायिक विद्यालय खाली भइरहेको समयमा विद्यार्थीलाई आधुनिक तरिकाबाट शिक्षा प्रदान गर्न आवश्यक रहेको जिल्ला शिक्षा समितिका अध्यक्ष तथा जिल्ला समन्वय कार्यालयका प्रमुख जीवनारायण कोइरालाले बताउनुभयो । उहाँले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न र प्रविधिमैत्री बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।

विसं २०१७ मा स्थापना भएको यस विद्यालयमा पूर्व प्राथमिक तहदेखि कक्षा १२ सम्म झण्डै सात सय विद्यार्थी अध्ययनरत छन् । जिल्लाकै कानुन विषयको अध्यापन हुने यस विद्यालयमा शिक्षा, मानविकी, व्यवस्थापन कानुन विषयका कक्षा सञ्चालन भएको विद्यालयका प्रधनाध्यापक धु्रव केसीले बताउनुभयो ।

सामग्री हस्तान्तरण कार्यक्रममा सन्धिखर्क– २ का वडा अध्यक्ष मोतिजङ्ग रायमाझी, पूर्व प्रधनाध्यापक नरेन्द्रकुमार क्षेत्री, मुकुन्दराज आचार्य, भविश्वर खनाल लगायतको उपस्थिति रहेको थियो ।