ड्रागन फ्रुटको खेतीबाट एक वर्षमै १ लाख कमाई

गलकोट, साउन २८ गते । बागलुङका निर्माण व्यवसायी विमलेश आचार्यले पहिलोपटक बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक उत्पादन थाल्नुभएको छ । बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती थालेको एक वर्षमै उत्पादन दिन थालेपछि अहिले यहाँ यसको उच्च माग हुन थालेकोे छ ।
बहुगुणी फलफूलका रुपमा रहेको ड्रागन फ्रुटको व्यावसायिक खेती थाल्नुभएका बागलुङ नगरपालिका–१ रामरेखाका उहाँले  पहिलो चरणमा यसको फल उत्पादन गरी रु एक लाखमा  एक सय ५० केजी फ्रुट बिक्रीसमेत गरिसकेको  बताउनुभयो ।
रातो रङ्गको ड्रागन फ्रुटको व्यावसायिक खेती गर्नुभएको आचार्यले एक वर्षमै उत्पादन दिन थालेपछि आफू दङ्ग परेको उल्लेख गर्नुभयो। जिल्लामै ठूलो क्षेत्रफलमा यो खेती गर्ने उहाँ पहिलो कृषक हुनुहुन्छ ।
“छ रोपनी जग्गामा गरिएको उक्त खेतीबाट अहिले उत्पादन सुरु भइरहेको छ, ।  पहिलो चरणमा एक सय ५० केजी ड्रागन फ्रुट बिक्री भइसकेको छ, उहाँले भन्नुभयाे, दोस्रो चरणमा अझ धेरै उत्पादन हुन्छ, । माग अत्यधिक भएकाले फार्मबाटै फ्रुट बिक्री भइरहेको आचार्यले बताउनुभयाे ।
 पूर्वमन्त्री लोकेन्द्र विष्टलगायत सफल ड्रागन व्यवसायीको प्रेरणाबाट मैले यो खेती एक वर्षअघिदेखि आफ्नै छ रोपनी जग्गामा ड्रागन फ्रुटका बिरुवा लगाएको थिए, आचार्यले भन्नुभयो, “ दुई हजार एक सय ड्रागन फ्रुटका बिरुवा लगाइएकामा सबै बिरुवा राम्रोसँग हुर्किएर फल लाग्न थालेपछि हर्षित भएको छु, सबै बिरुवा मोरङ जिल्लाबाट ल्याएको थिए ।”