विपद् व्यवस्थापनमा ज्येष्ठ नागरिकको अनुभव महत्त्वपूर्ण

काठमाडौँ, भदौ ६ गते । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज ज्येष्ठ नागरिकका लागि विपद् पूर्ण तयारीका सन्दर्भमा उहाँहरुबाट सुझाव सङ्कलन गरेको छ ।
आज सिंहदरबारमा भएको विपद् संवादका क्रममा उहाँहरुले ज्येष्ठ नागरिकको अनुभव र ज्ञान विपद् व्यवस्थापनका लागि महत्त्वपूर्ण हुने बताउनुभयो । यसका साथै उहाँहरुको सुरक्षाको विषय पनि महत्त्वपूर्ण हुने भन्दै त्यस विषयमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको थियो ।
ज्येष्ठ नागरिक अभियन्ता कृष्णमुरारी गौतम (चट्याङ मास्टर)ले खास गरेर विपद् व्यवस्थापनको तयारीमा ज्येष्ठ नागरिकको अनुभव र ज्ञानको सबैभन्दा ठूलो महत्त्व रहने बताउनुभयो । विपद् आउनु अघि र विपद् भइसकेपछि पनि पुनःस्थापनाको काममा उहाँहरुको अनुभव साह्रै नै उपयोगी हुने बताउनुभयो ।
उहाँले प्राधिकरणले पहिलो पटक ज्येष्ठ नागरिकलाई समावेश गरेर गोष्ठी गरेकामा आभार व्यक्त गर्दै यस्ता अन्य कार्यक्रममा ज्येष्ठ नागरिकलाई सहभागी गराएर उहाँहरुको सुझाव लिनु आवश्यक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “६० वर्ष कटेपछि कुनै ज्येष्ठ नागरिक कार्यक्रममा देखिँदैनन्, त्यसकारण यो कार्यक्रम गरेकामा प्राधिकरणलाई धेरै धन्यवाद दिन चाहन्छु ।” नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति प्रा डा जीवराज पोखरेलले समाजमा जोखिममा पर्ने व्यक्तिहरु बालबालिका, महिला, वृद्धवृद्धाहरु र अपाङ्गता भएकाहरु भएको बताउनुभयो ।
उनीहरुका सवालमा गम्भीर हुनुपर्ने र पूर्वतयारीदेखि नै ख्याल गर्नुपर्ने उहाँले बताउनुभयो । त्योभन्दा पनि ज्येष्ठ नागरिकमा अनमोल ज्ञान भएकाले उहाँहरुको त्यो ज्ञान सङ्कलन गरेर उपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
“युवामा ऊर्जा हुन्छ तर वरिष्ठ नागरिकसँग अनुभव हुन्छ उहाँहरुको अनुभव नलिएर गल्ती गरिएको छ”, उहाँले भन्नुभयो । नियमहरु बनाउँदा पनि उहाँहरुलाई केन्द्रमा राखेर बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । ज्येष्ठ नागरिक बोझ नभएको उहाँले बताउनुभयो ।
अर्का पूर्वसचिव एवं ज्येष्ठ नागरिक द्वारिकानाथ ढुङ्गेलले ६५ वर्ष माथिका नागरिकलाई आपत् पर्दा बाँच्न सक्ने स्थितिमा बस्न कसरी सिकाउने, उनीहरुको उद्धार कसरी गर्ने भन्ने विषयमा पनि जानकारी दिनुपर्ने बताउनुभयो । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका पूर्वअध्यक्ष गौरीशङ्कर लालदासले चाँडै प्रभावित हुने भएकाले ज्येष्ठ नागरिकको विशेष ख्याल गर्नुपर्नेमा जोड दिनुभयो ।
विपद् आइलाग्दा पूर्वतयारी गरिरहेका र कार्ययोजना बनाएर गरिरहेको भए पनि विपद्का बेलामा ज्येष्ठ नागरिकलाई कसरी सम्बोधन गर्ने, कसरी संरक्षण गर्ने र उहाँहरुको ज्ञानलाई कसरी उपयोग गर्ने भन्ने विषयमा निष्कर्ष निकाल्नका लागि बैठक गरिएको प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले बताउनुभयो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले अब आउने कार्यक्रममा ज्येष्ठ नागरिकका लागि के गर्न जरुरी छ भन्ने विषयमा आएको आजको सुझाव आगामी कार्यक्रमका लागि महत्त्वपूर्ण हुने बताउनुभयो । यसका लागि उहाँहरूलाई पनि पूर्वतयारीलगायतका काममा कसरी सहभागी गराउन सकिन्छ भन्ने विषयमा यो कार्यक्रम गरिएको उहाँले स्पष्ट पार्नुभयो ।