एमसीसी परियोजना आजबाट कार्यान्वयनको चरणमा प्रवेश

काठमाडौं, भदौ १३ गते । मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) परियोजना आजबाट कार्यान्वयनमा आएको छ ।

बुधवार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश (इन्ट्री इन्टु फोर्स–ईआईएफ) सम्बन्धी पत्र आदानप्रदान गरेसँगै सो परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो ।

पत्र आदान–प्रदान कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले एमसीसी परियोजनामार्फत गरिने सडक स्तरोन्नति तथा विद्युत आपूर्ति सम्बन्धी कामले नेपाली जनता लाभान्वित हुने बताउनुभयो ।

उहाँले विद्युत् प्रशारण आयोजना र सडक मर्मत आयोजनाको औपचारिक कार्यान्वयन शुभारम्भको घोषणा गर्न पाएको भन्दै खुशी व्यक्त गरे ।यससँगै एमसीसी परियोजनाले तोकिएको काम, कारबाहीहरु प्रारम्भ गर्नेछ ।

गत साउन ३१ गते बसेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीएनेपाल) को सञ्चालक समिति बैठकले भदौ १३ लाई इन्ट्री इन टु फोर्स (ईआईएफ) मिति तोकेको थियो । यससँगै आजबाट पाँच वर्ष भित्र परियोजनाको निर्माण सम्पन्न गरिसक्नुपर्नेछ ।

सन २०२३ को अगष्टबाट गणना शुरु भएर २०२८ को अगस्टमा आयोजना सम्पन्न भइसक्नु पर्नेछ । अर्थ मन्त्रालय र एमसीसीबीच २०७४ भदौ २९ (२०१७ सेप्टेम्बर १४) मा भएको सम्झौता २०७८ फागुन १५ गतेको संसद् बैठकबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन भएको थियो। सम्झौता भएको ६ वर्षपछि परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो ।