दिक्तेल बजारमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी’ हुँदै

खोटाङ, भदौ १७ गते । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी असोज तेस्रो साता जिल्लाका प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी’ कार्यक्रम गर्ने भएको छ ।

जिल्लाका धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी असोज १७ देखि २१ गतेसम्म पाँचदिने कला प्रदर्शनी कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो ।

कला, संस्कृति र पर्यटनको प्रवर्द्धनका लागि जिल्लाका १० वटै स्थानीय तहमा भएका पाखा, पखेरा, जङ्गल, खोल्साखाल्सी, खोच, लेकबेँसीका साथै प्राकृतिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको सुन्दर पक्षहरूको प्रचारका लागि ‘लाइभ’ चित्रकला तथा प्रदर्शनी आयोजना गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । कार्यक्रममा स्वदेश तथा विदेशका गरी ४० कलाकारले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालगायत जिल्लाका अन्य महत्त्वपूर्ण ठाउँको दृश्यलाई क्यानभासमा प्रत्यक्ष उतार्ने छन् ।

“जिल्लाका सबै स्थानीय तहको महत्व झल्किने स्थान तथा क्रियाकलापसम्बन्धी प्रत्यक्ष चित्रकला तथा प्रदर्शनी गर्ने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “प्रत्यक्ष चित्रकला, संस्कृति र पर्यटनको माध्यमबाट खोटाङको पहिचान देश तथा विदेशमा गराएर पर्यटन प्रवर्द्धन गर्ने हाम्रो लक्ष्य हो ।

लाइभ चित्रकला कार्यशाला तथा प्रदर्शनीले खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन र ती स्थानको महत्व, संस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्याउने दाबी गरिएको छ ।”

कला प्रदर्शनीका लागि नगरपालिकाले रु १८ लाख विनियोजन गरेको छ । प्रदर्शनीको अवधिमा स्वदेश तथा विदेशका कलाकारले करिब एक सयको हाराहारीमा क्यानभास पेन्टिङ तयार पार्ने नगरपालिकाले जनाएको छ । कलाकारले उतारेका क्यानभासलाई राखेर असोज २० गते दिक्तेलमा चित्रकला प्रदर्शनीसहित स्थानीय परिकारको प्रदर्शनी, विभिन्न जातजातिको सांस्कृतिक झाँकी, स्थानीय कलाकारको नृत्य प्रदर्शनलगायतका कार्यक्रम गर्ने तयारी गरिएको जनाइएको छ ।

चित्रकलालाई केही महिनापछि काठमाडौँ आर्ट ग्यालरीमा लगेर उच्चपदस्थ व्यक्तिमार्फत उद्घाटन गरेर प्रदर्शनीको योजना बनाइएको नगरप्रमुख भट्टराईले बताउनुभयो । प्रदर्शनीको तयारीका बारेमा नगरपालिकाले विभिन्न पक्षसँग छुट्टाछुट्टै छलफल गर्दै उनीहरूबाट राय तथा सुझाव सङ्कलन गरिरहेको छ । यसैगरी क्यानभासलाई सङ्ग्रहालय बनाएर राखिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले आयोजना गर्ने चित्रकला कार्यशालामा जिल्लाका छात्र–छात्रालाई पनि सहभागी गराइने छ ।

प्रदर्शनीका लागि दिक्तेल रुपाकोट मझुवा नगरपालिकाका १५ वटै वडा र अन्य नौवटा स्थानीय तहबाट प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको परिचय र पर्यटकीय महत्वसहितका तस्वीर प्राथमिकीकरण गरिसकिएको छ । चित्रकला कार्यशाला तथा प्रदर्शनी कार्यक्रमका लागि नगरपालिकाले समय तथा कार्यतालिकासमेत सार्वजनिक गरेको छ ।