अतिक्रमित संरचना हटाइयो

म्याग्दी, भदौ १९ गते । म्याग्दीको सदरमुकाम बेनीमा सडक अतिक्रमण गरेर सार्वजनिक जग्गामा बनाइएको अव्यवस्थित संरचना हटाइएको छ । सडकमा आवतजावत प्रभावित र दुर्घटनाको जोखिम बढेपछि बेनी नगरपालिकाले वडा नं ८ मा पर्ने अस्पताल चोकमा रहेका अतिक्रमित संरचना हटाएको हो । बेनी नगरप्रमुख सुुरत केसीले अस्पतालचोकमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका दुुई पसलको संरचना सोमबार भत्काइएको जानकारी दिनुुभयो ।

“व्यवसायीले अटेर गरेपछि नगरपालिका आफैँले अस्पताल चोकको सार्वजनिक जग्गामा बनेका दुुई पसलको संरचना हटाएको छ”, उहाँले भन्नुुभयो, “अतिक्रमण हटाएको ठाउँमा सवारीसाधन पार्किङस्थल बनाउँछौँ ।”

सवारीसाधनको चाप बढेको र सार्वजनिक जग्गामा रहेका अव्यवस्थित संरचनाका कारण आवतजावतमा समस्या, दुर्घटनाको जोखिम र बजार व्यवस्थापनमा समस्या भएपछि अतिक्रमण हटाउने कामलाई तीव्रता दिएको नगरप्रमुख केसीले बताउनुुभयो ।

यसअघि जिल्ला प्रशासन कार्यालय, नगरपालिकाको कार्यालय अगाडि र कालीपुल बसपार्कको सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका टहरा, सटर, ट्याङ्की र ठेला हटाइएको थियो । कालीपुलको अतिक्रमण हटाइएको ठाउँमा बसपार्क बनाइएको छ ।

जिल्ला प्रशासन र नगरपालिका कार्यालय अगाडिको सार्वजनिक जग्गामा सघन सहरी तथा भवन डिभिजन कार्यालयमार्फत सडक ढलान र नाली निर्माण गरिएको छ । सो ठाउँबाट १५ वटा सटर र ट्याङ्की हटाइएको थियो । ठेलामा फलफूल व्यवसाय गर्नेलाई अन्यत्र स्थानान्तरण गरिएको थियो ।

नाली र ढलान भएपछि सो क्षेत्रमा धुुलो र हिलोको समस्या हटेको वीरेन्द्रचोक टोल सुधार समितिका पूर्वअध्यक्ष दलप्रसाद श्रेष्ठले बताउनुुभयो । सार्वजनिक जग्गामा भाडामा बसेका व्यवसायीसँगको सम्झौताको म्याद सकिएपछि नगरपालिकाले थप गरेको छैन । उनीहरूलाई सार्वजनिक सूचना जारी गरेर संरचना हटाउन आग्रह गरेको छ । अन्यत्रको सार्वजनिक जग्गाको अतिक्रमण हटाएर सराहनीय काम गरे पनि नगरपालिका कार्यालय अगाडिको मोटरेबल पुल अतिक्रमण गरेर बनाइएको संरचना हटाउन बेवास्ता गरेको बजारवासीले नगरपालिकासँग गुुनासो गरेका छन् ।

नगरप्रमुख केसीले मोटरेबल पुल असापासको सार्वजनिक जग्गा अतिक्रमण हटाएर बाग्लुुङ, भकिम्ली र बरंजा छुट्ने सवारीसाधनको पार्किङस्थल बनाउने योजना रहेको बताउनुुभयो ।

दरवाङमा आधारभूत अस्पताल सञ्चाल

म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा आधारभूत अस्पताल सञ्चालन भएको छ । मालिका गाउँपालिकाले दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई पाँच शय्या क्षमताको आधारभूत अस्पतालमा स्तरोन्नति गरेको हो । गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले गत असारको गाउँसभा र साउन १० गतेको कार्यपालिकाको बैठकको निर्णयानुसार आधारभूत अस्पतालको सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो ।

“प्राथमिक स्वास्थ्य केन्द्रमा पूर्वाधार, जनशक्ति र उपकरण व्यवस्थापन गरेर पाँच शय्याको अस्पताल सञ्चालन गरेका छौँ”, उहाँले भन्नुभयो, “अस्पतालबाट मालिका, धवलागिरि र मङ्गला गाउँपालिकाका बासिन्दा लाभान्वित हुनेछन् ।” अस्पतालको सोमबार गण्डकी प्रदेशका पूर्व सामाजिक विकासमन्त्री नरदेवी पुुनले उद्घाटन गर्नुुभयो ।

आधारभूत अस्पताल सञ्चालन गर्न निक साइमन इन्स्टिच्युटले एक चिकित्सक, एक रेडियोग्राफर र एक जना स्टाफ नर्सको जनशक्ति सहयोग गरेको छ । एक चिकित्सकको दरबन्दी रहेको अस्पतालमा छात्रवृत्तिमा अध्ययन गरेका थप एक चिकित्सक आउनुुभएको छ ।

यसअघि एक जना चिकित्सकसहित १६ स्वास्थ्यकर्मी र कर्मचारीको दरबन्दी थियो । आधारभूत अस्पतालका लागि गाउँपालिकाले थप रु ३२ लाख अनुदान दिएको अध्यक्ष गर्बुजाले बताउनुुभयो । निक साइमन इन्स्टिच्युटले रु १० लाख मूल्य बराबरको उपकरण र स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । गाउँपालिकाले रु पाँच लाख मूल्य बराबरको औषधि व्यवस्थापन गरेको छ ।

दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रको गुुणस्तर सुुधार गरी अस्पताल बनाउन विसं २०७८ देखि नै प्रक्रिया सुुरु भएको थियो । सुुरुमा कोरोना अस्पताल र त्यसैलाई विस्तार गरी आधारभूूत अस्पताल बनाइएको हो । प्राथमिक स्वास्थ्य केन्द्रबाट यसअघि आकस्मिक र कार्यालय समयमा स्वास्थ्य परीक्षण सेवा दिँदै आएको थियो ।

अस्पतालमा रुपान्तरण भएपछि चौबीसै घण्टा बिरामीलाई भर्ना गरेर सेवा दिन थालिएको छ । अस्पताल सञ्चालनपछि उपचार गर्न बेनी, बागलुङ, पोखरा, काठमाडौँलगायत सहरमा पुग्नुपर्ने बाध्यता हट्ने मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुुर रोकाले बताउनुुभयो ।

सदरमुकाम बेनीबाट २४ किलोमिटर पश्चिममा रहेको सो केन्द्र २०७३ सम्म हेल्थ असिस्टेन्ट, अहेब, अनमी र नर्सको भरमा सञ्चालन हुँदै आएको थियो । हाल प्रयोगशाला, एक्सरे, अल्ट्रासाउन्ड, मुटुको इसिजी, पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने स्क्रिनिङ, हातखुट्टा भाँचिएको प्लास्टर सेवा दिइरहेको केन्द्रले आफ्नै औषधि पसल सञ्चालन गरेको छ । भवन बनाइएकाले शव परीक्षणको काम पनि दरवाङमै गर्ने तयारी भएको छ । दरवाङमा शवगृह नहुँदा दुर्घटना र आत्महत्या गरेर ज्यान गुमाएकाको शव परीक्षण गर्न बेनी ल्याउनुपर्ने समस्या छ ।