आन्दोलनरत चिकित्सकहरूसँग छलफलका लागि सरकारले बनायो वार्ता समिति

काठमाडौं, भदौ ३१ गते । आन्दोलनरत चिकित्सकहरूका मागका सम्बन्धमा छलफल गर्न सरकारले वार्ता समिति गठन गरेको छ । सरकारले अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रहने गरी पाँच सदस्य रहेको वार्ता समिति गठन गरेको हो ।

समितिले आन्दोलनरत चिकित्सकका प्रतिनिधिलाई वार्तामा बोलाइसकिएको र केहीबेरमा वार्ता सुरु हुने पनि जनाएको छ । नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ ।

स्वास्थ्यकर्मीहरू आन्दोलित भएपछि टाढाटाढाबाट अस्पताल आएका बिरामीहरू समस्यामा परेका छन् । मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा चिकित्सकहरूमाथि कुटपिट गर्नेलाई कारबाही नभएको भन्दै नेपाल चिकित्सक संघ देशव्यापी आन्दोलनमा उत्रेको हो ।

संघले चिकित्सकमाथि भएको कुटपिटका दोषीलाई अबिलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेको छ । संघले बाध्यताबस आन्दोलनमा उत्रिनुपरेको जनाएको छ । २७ भदौमा सन्चो अस्पतालका चिकित्सक डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि कुटपिट भएको थियो ।