जलवायु परिवर्तनले दिन रातकै समय तालीका फेरिदै

प्रोसिडिङ्स अफ नेसनल एकेडेमी अफ साइन्स (पिनास)’ मा सोमबार प्रकाशित अनुसन्धान अनुसार जलवायु परिवर्तनले पृथ्वीको परिक्रमा प्रक्रियालाई सुस्त बनाउने क्रम बढेको छ। जसको कारण दिन लम्बिने प्रक्रिया अझै बढेको छ।
नेपाली वैज्ञानिक समेत संलग्न रहेको सो अनुसन्धानले पृथ्वीको तापमान बढ्दा ध्रुवीय क्षेत्रको हिउँ पग्लिएर पृथ्वीको भार भूमध्यरेखाको क्षेत्रतर्फ सर्न थालेको छ।

‘द इन्क्रिजिङली डोमिनेन्ट रोल अफ क्लाइमेट चेन्ज अन लेन्थ अफ डे फेरिएस’ शीर्षकको अनुसन्धानमा मानव सिर्जन जलवायु परिवर्तनले दिन लम्बिने प्राकृतिक प्रक्रियालाई पनि जित्ने अवस्थामा पुगेको उल्लेख छ।
अमेरिकाको नेसनल एरोनोटिक्स एन्ड स्पेस एड्मिनिस्टेसन (नासा)का वैज्ञानिक सुरेन्द्र अधिकारी सहितको टोलीले गरेको अध्ययन अनुसार जलवायु परिवर्तनको कारण २१औं शताब्दीको अन्त्यसम्ममा पृथ्वीको दिन २.६ मिलिसेकेन्डले लम्बिनेछ।

‘यो अनुसन्धानले जलवायु परिवर्तनको पृथ्वीमा कतिको धेरै प्रभाव पार्न थालेको देखाउँछ। आफ्नो गतिमा भइरहेको भौगर्भिक घटनालाई समेत यसले प्रभावित गर्न थालेको देखाउँछ’ अधिकारीले भने ‘जलवायु परिवर्तन अवस्था यस्तै रहने हो, हरितगृह ग्याँसको उत्सर्जन अझै बढ्ने हो भने प्रत्येक शताब्दीमा दिन २.६ मिलिसेकेन्डले लम्बिनेछ। तर अहिलेसम्म १.२ मिलिसेकेन्डमै रहेको छ।’
प्राकृतिक कारणले पृथ्वीले एक शताब्दी अर्थात् सय वर्षमा १.७ मिलिसेकेन्ड दिन लम्बिन्छ। हजार मिलिसेकेन्डको १ सेकेन्ड हुन्छ। पृथ्वीले ८६ हजार ४०० सेकेन्डमा एक पटक फन्को लगाउँछ।
अधिकारीका अनुसार मिलिसेकेन्ड भन्दा थोरै भन्ने लाग्न सक्छ तर पृथ्वीको उत्पत्ति देखिको समय हेर्ने हो भने जलवायु परिवर्तन भर्खरै सुरु भएको घटना हो।
जलवायु परिवर्तनको प्रत्यक्ष सम्बन्ध औद्योगिक क्रान्तिसँग छ। औद्योगिक क्रान्ति अठारौं शताब्दीको अन्त्यतिरबाट शुरु भएको हो। अधिकारीले १९०० यताको तथ्यांक विश्लेषण गर्दा पछिल्लो दुई दशकमा दिन लम्बिने गतिमा पहिलेको तुलनामा झनै बढेको देखिने बताए।
‘औद्योगिक क्रान्तिपछिको समयको अध्ययन गर्दा पछिल्लो दुई दशकमा यो क्रम झनै बढ्दै गएको देखिन्छ’ अधिकारले भने, ‘यो प्रत्येक दशकमा बढ्दै गएको छ।’
अनुसन्धानले २०औं शताब्दीमा जलवायु परिवर्तनको कारण भएको समुद्र सतहको वृद्धिको कारण ०.३ देखि १ मिलिसेकेन्ड बीचमा दिनमा वृद्धि भएको उल्लेख छ। पछिल्लो दुई दशकमा जुन दरमा वृद्धि भएको छ त्यसले एक शताब्दीमै जलवायुको कारणले १.३३ मिलिसेकेन्ड बढ्नेछ। ‘यो २०औं शताब्दी भन्दा निकै बढी हो’ अनुसन्धानको निष्कर्षमा भनिएको छ।