पाँचथर – फिदिम नगरपालिका–३ लालीखर्कमा निर्माण गरिएको ‘ताया रुङरि खिम’ उद्यान किराँत राई समुदायको धर्म, संस्कृति र परम्पराको जानकारी दिने महत्वपूर्ण स्थल बनेको छ ।
उद्यानमा किराँत राई परम्परागत संस्कार, संस्कृति, मूर्ति, वनस्पति तथा सुप्तुलुङ (चुला) लगायतका संरचना राखिएका छन् । पछिल्ला दिनमा यो उद्यान आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।
ताया रुङरि खिमका अध्यक्ष भक्तबहादुर राईका अनुसार राई वान्तवा भाषामा ‘ताया’को अर्थ ज्ञान वा बुद्धि, ‘रुङरि’को अर्थ शक्ति र ‘खिम’को अर्थ घर हुन्छ। यसरी यो उद्यानलाई ‘ज्ञान र शक्ति दिने घर’को रूपमा निर्माण गरिएको हो ।
अध्यक्ष राईले भने, “माझ किराँतबाट पूर्वतर्फ सरेका राईहरूले भाषा, संस्कार र परम्परा बिर्सँदै गएको पाइएकोले नयाँ पुस्तालाई आफ्नो पहिचान बुझाउने उद्देश्यले यो पार्क निर्माण गरेका हौँ ।”
उद्यान फिदिम नगरपालिका–३ लालीखर्कको सुम्नीमा करिब १० रोपनी जग्गामा रहेको छ । आसपासका वडाहरू – वडा नं ७ असिने, वडा नं १ नाम्दू ढोडेनी, वडा नं २ रमिते ठाडे, वडा नं ५ चोकमागू र वडा नं ६ सिवामा राई समुदायको बाक्लो बसोबास भएकोले सबैको पहुँचमा पर्ने स्थान रोजिएको छ ।
उद्यानमा प्रकृति र संस्कृतिलाई झल्काउने, परम्परागत खेलकुदसँग सम्बन्धित सामग्री, बाल उद्यान र प्राकृतिक पार्क ‘खामलिखाला खिम’मा राई समुदायको जन्मदेखि मृत्युसम्मका संस्कारमा आवश्यक वनस्पतिहरू रोपिएका छन् । रोपिएका वनस्पतिहरूको नाम र प्रयोगसम्बन्धी जानकारी समेत स्पष्ट रूपमा प्रदर्शित गरिएको छ।



