सुर्खेत — हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको खार्पुनाथ गाउँपालिका-५ स्थित चुवाखोला कर्णाली नदीमा निर्मित बेलिब्रिजको उद्घाटन गरेसँगै सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो ।
पक्की पुल निर्माण गर्न समय लाग्ने भएपछि नेपाली सेनाले चुवाखोलामा बेलिब्रिज निर्माण गरेको हो । गत वर्ष चैत अन्तिम साता नेपाली सेनाले कर्णाली करिडोरअन्तर्गतको २ सय ८६ किलोमिटर ट्रयाक खोलेपछि सिमकोटसम्म यातायातका साधन चल्न थालेका थिए । तर चुवाखोलामा पुल नहुँदा हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको थिएन ।

‘अब भारतीय सहर रुपैडिहाबाट चीन सीमास्थित हिल्सासम्म एउटै गाडीमा जान सकिने भएको छ,’ हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले भने, ‘पुल नहुँदा यसअघि ३ खण्डखण्डमा गाडी सञ्चालन गर्नुपरेको थियो, यात्रुहरू चर्को भाडाको मारमा थिए ।’ उनका अनुसार भारतीय सहर रुपैडिहाबाट चीन सीमासम्मको हिल्सासम्मको दूरी करिब ५ सय ५ किलोमिटर छ । कालीकोटको खुलालुबाट सुरु हुने कर्णाली करिडोरले बाजुरा र हुम्लालाई समेत जोडेको छ । पुल बनेसँगै हुम्लीको सडक सपना २६ वर्षपछि पूरा भएको छ ।
सिमकोट-हिल्सा सडक आयोजना कार्यालयका अनुसार २०५४ सालमा हुम्लामा भोकमरीसँगै फैलिएको भाइरल इन्फ्लुएन्जाबाट करिब ५० स्थानीयले ज्यान गुमाएपछि खाद्यान्न अभावको स्थायी समाधानका लागि तत्कालिन जिल्ला विकास समितिले चीनसँग सडक जोड्ने योजना बनाएको थियो ।


