रामेछापमा बस दुर्घटना : १२ जनाको मृत्यु, चालकसहित ८ घाइते

रामेछाप, – रामेछाप सदरमुकाम मन्थली नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने चालकसहित ८ जना घाइते भएका छन् ।

काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस मन्थली नगरपालिका–६ स्थित मसानटार सडक खण्डबाट करिब एक सय मिटर तल तामाकोशी नदीमा खसेको हो ।

मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशवसिंह धामीका अनुसार दुर्घटनामा परेर १२ जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।

रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टका अनुसार घाइतेहरूको खुर्कोटस्थित शुभ जीवन अस्पताल, मन्थली अस्पताल र तामाकोशी अस्पतालमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

दुर्घटनापछि नदी किनार र आसपासका क्षेत्रमा खसेका यात्रुहरूको खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।