काठमाडौं – नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ मा मुद्रास्फीति (मूल्यवृद्धि) ५.५ प्रतिशतभित्र रहने प्रक्षेपण गरेको छ। राष्ट्र बैंकका गभर्नर विश्व पौडेल ले बाह्य तथा आन्तरिक दुवै कारणले मूल्यवृद्धिमा केही समय दबाब कायम रहने बताएका छन्।
गभर्नर पौडेलका अनुसार बाह्य आपूर्तिजन्य कारणले मुद्रास्फीतिमा दबाब बढ्दै गएको छ भने आन्तरिक माग विस्तारले पनि मूल्यवृद्धिमा थप प्रभाव पार्न सक्ने देखिएको छ। चालु आर्थिक वर्षको पहिलो दश महिनाको औसत मुद्रास्फीति २.६६ प्रतिशत रहेको भए पनि २०८३ वैशाखमा वार्षिक विन्दुगत मुद्रास्फीति ५.०४ प्रतिशत पुगेको छ।
राष्ट्र बैंकका अनुसार पेट्रोलियम पदार्थ तथा खाद्यवस्तुको मूल्य वृद्धिका कारण आगामी केही महिना मुद्रास्फीतिमा दबाब कायम रहने सम्भावना छ। तर, आगामी आर्थिक वर्षको चौथो त्रैमासदेखि मूल्यवृद्धिको दर क्रमशः घट्दै जाने अपेक्षा गरिएको छ। यही आधारमा आगामी वर्षको मुद्रास्फीति ५.५ प्रतिशतभित्र सीमित रहने प्रक्षेपण गरिएको हो।
केन्द्रीय बैंकले मौद्रिक क्षेत्रमा विद्यमान पर्याप्त तरलता र न्यून ब्याजदरको अवस्थाले आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने जनाएको छ। सरकारले सार्वजनिक खर्च बढाउने, आयकरमा सहुलियत दिने तथा आर्थिक सुधारका कार्यक्रम कार्यान्वयन गर्ने नीति लिएकाले समष्टिगत माग बढ्ने र त्यसले आर्थिक गतिविधि विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
यद्यपि, विप्रेषण आप्रवाह, पर्यटन आम्दानी तथा सार्वजनिक खर्चमार्फत बैंकिङ प्रणालीमा थप तरलता प्रवाह भइरहने भएकाले तरलता व्यवस्थापन चुनौतीपूर्ण रहन सक्ने राष्ट्र बैंकको विश्लेषण छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको समग्र वित्तीय अवस्था सन्तोषजनक रहेको जनाएको छ। तथापि, केही संस्थामा पछिल्लो समय निष्क्रिय कर्जा (एनपीएल) बढ्दै गएको र त्यसले पूँजीकोषमा दबाब सिर्जना गरेको भन्दै सघन अनुगमन आवश्यक रहेको उल्लेख गरेको छ।
बाह्य क्षेत्रतर्फ आर्थिक गतिविधि विस्तारसँगै आयात बढ्ने अनुमान गरिए पनि उच्च विप्रेषण आप्रवाह, पर्यटन क्षेत्रको सुधार तथा सेवा निर्यात विस्तारका कारण चालु खाता र शोधनान्तर स्थिति बचतमा रहने अपेक्षा गरिएको छ। यसका साथै विदेशी विनिमय सञ्चिति अझै मजबुत बन्दै जाने राष्ट्र बैंकको अनुमान रहेको छ।



