काठमाडाैं — नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ। जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न यसअघि नेपाली काँग्रेसको पदाधिकारी बैठक, केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिसकेको छ।
तर केन्द्रीय समितिको बैठक भने पहिलोपटक बस्न थालेको हो। यसअघि दुई दिनसम्म भएको केन्द्रीय समितिको बैठकमा पार्टीको महाधिवेशन, चुनाव वा संसद पुनस्थापनाबारे पदाधिकारी तथा पूर्वपदाधिकारीहरुबीच नै मत विभाजन भएपछि नेपाली काँग्रेस कुनै निश्कर्षमा पुग्न सकेको छैन।
यो बैठकमा पार्टी सभापति शेरबहादुर देउवा पनि उपस्थित हुने बताइएको छ। जेनजी आन्दोलनपछि देउवा पहिलोपटक सार्वजनिक हुन थालेका हुन्। त्यो आन्दोलनमा आन्दोलनकारीले बुढानीलकण्ठस्थित उनको निजी निवास जलाउँदै देउवा दम्पत्तिमाथि कुटपिट समेत गरेका थिए।

करिब तीन सातासम्म सैनिक पहरामा उपचार गराएपछि उनीहरू आफन्तको घरमा बसिरहेका छन्। यसअघि पदाधिकारी बैठकमा उपस्थित हुने भनिए पनि अन्तिम समयमा उनले उपसभापति पूर्णबहादुर खड्कालाई बैठक चलाउन भनेका थिए।
आज पार्टी कार्यालयमा सानेपामा सुरु हुने यो बैठकलाई पार्टीको पूर्ण केन्द्रीय समिति बैठक हुनेछ। यो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेशका सभापतिहरूलाई पनि बोलाइएको छ।
जेनजी आन्दोलनपछि पार्टी नेतृत्व परिवर्तनको बहस चर्किन थालेपछि दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनका लागि देशव्यापी हस्ताक्षर अभियान चलाएका थिए। नेपाली काँग्रेसको विधानअनुसार ४० प्रतिशत महाधिवेशन तथा महासमिति सदस्यहरूले माग गरेमा विशेष महाधिवेशन बोलाउन सकिने प्रावधान छ। उसै पनि यही मंसिरमा यो कार्यसमितिको म्याद गुज्रिसक्छ। म्याद थप गरेर अधिवेशन सार्नेबारे काँग्रेसले निर्णय लिइसकेको छैन। अहिले यही कार्यसमितिलाई म्याद थपेर महाधिवेशन लम्ब्याउने वा यही मंसिरमा नियमित महाधिवेशन गर्ने तथा विशेष महाधिवेशन आह्वान गर्ने भन्नेबारे काँग्रेसभित्र मत विभाजित छ।
यद्यपि ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरिसकेका कारण नेतृत्वलाई तत्काल विशेष विशेष महाधिवेशन बोलाउनका लागि दबाव पनि छ।



