करोडौँका नगरबस प्रयोगविहीन, सेवा ठप्प पारेर बसपार्कमा थन्किए

नेपालगञ्ज — नेपालगञ्ज उपमहानगरपालिकाले करोडौँ रुपैयाँमा खरिद गरेका नगरबस प्रयोगविहीन अवस्थामा बसपार्कमा थन्किएका छन् । आर्थिक वर्ष २०७५/७६ मा विशेष अनुदानबाट चार थान ४१ सिटे र तीन थान ३६ सिटे गरेर सातवटा बस रु ३ करोड ५८ लाख ११ हजार ४१५ मा खरिद गरिएका थिए ।

सुरुआतमा उपमहानगरपालिकाले महिलासहितका सहचालक राखी आफैं सञ्चालन गरे पनि खर्च धान्न नसकेपछि बसपार्क र बस सञ्चालनका लागि टेन्डर आह्वान गरिएको थियो । राजस्व शाखा प्रमुख वीरबहादुर थापाका अनुसार वार्षिक रु ५० लाख (बस सञ्चालन) र रु ५१ लाख (बसपार्क) न्यूनतम मूल्य तोकिएका थे । शिवशक्ति जनरल अर्डर सप्लायर्सले वार्षिक रु १ करोड ३७ लाख ५१ हजारमा ठेक्का लिएको थियो ।

तर बस सञ्चालनमा घाटा बढेपछि ठेकेदारले सातै बस बसपार्कमै थन्काइदिएको छ । लक्षित वर्गका लागि आएको अनुदानगत रकमबाट खरिद गरिएका बस निष्क्रिय हुँदा नगरवासीले आक्रोश व्यक्त गरेका छन् । नागरिक सरोकार मञ्चका संयोजक कृष्णप्रसाद श्रेष्ठले “सहरको प्रतिष्ठामै आँच आउने” भन्दै यस्ता सार्वजनिक सम्पत्तिलाई थन्काएर राख्नु दुरुपयोग भएको टिप्पणी गरेका छन्।

उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बसलाई फेरि सञ्चालनमा ल्याउन योजना बनिरहेको बताउँदै आगामी नगर कार्यपालिकाको बैठकमा यस विषयमा फैसला हुने जानकारी दिएका छन् ।