काठमाडौं – युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्सालले देशभरका ७५३ वटै स्थानीय तहमा युवापरिषद् गठन गर्ने अभियान सुरु गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
राष्ट्रिय युवापरिषद् सानोठिमीले युएनएफपिको साझेदारीमा शुक्रबार आयोजना गरेको ‘नीतिनिर्माण तहदेखि कार्यान्वयन तहसम्म युवा सहभागिता संवाद’ कार्यक्रममा सचिव लम्सालले यसअघि पनि सरकारले युवापरिषद् वा युवाका सञ्जाल गठनको निर्णय गरे पनि कार्यान्वयनमा चुनौती देखिएको बताए । उनले अब युवाहरूले आफैं अग्रसर भएर यस अभियानलाई अघि बढाउनुपर्नेमा जोड दिए ।
सचिव लम्सालका अनुसार देशभर रहेका ५० हजार सार्वजनिक सेवा प्रदायक संस्था र कार्यालयमा देखिएको बेथितिको अन्त्य गर्न प्रत्येक पालिकामा युवापरिषद् गठन अनिवार्य छ । उनले सार्वजनिक निकायमा जवाफदेहिता कायम गर्न युवाको सशक्त सहभागिता आवश्यक रहेको उल्लेख गरे ।
केही दिनअघि मात्रै मन्त्रालयले नयाँ युवा नीति पारित गरेको जानकारी दिंदै उनले शिक्षा, स्वास्थ्यदेखि देशको समग्र विकासमा युवा नेतृत्वलाई मूल प्रवाहमा ल्याउनुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा राष्ट्रिय युवापरिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतमले देशको परिवर्तन र अवस्थाको पहिचान गर्दै युवालाई नीतिनिर्माण तहमा सशक्तरूपमा लैजाने छलफल महत्त्वपूर्ण भएको बताए । उनका अनुसार छलफलबाट निस्किएका सुझाव र उपलब्धिलाई प्रतिवेदनका रूपमा तयार गरी सरकारले अघि बढाउन सहयोग पु¥याइनेछ ।
युएनएफपिका कार्यक्रम विज्ञ अभिराम रोयले युवाबाटै देशको विकासको ‘रोडम्याप’ आउनुपर्ने बताउँदै, देशभर युवाको सहभागिता राज्यका हरेक तहमा सुनिश्चित गर्नुपर्नेमा जोड दिए । उनले युवाको नेतृत्वमा देशलाई दिगो विकासतर्फ लैजाने स्पष्ट कार्ययोजना तयार गर्नुपर्ने सुझाव दिए ।
राष्ट्रिय युवापरिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले संवाद कार्यक्रममा प्रस्तुत भएका विचार र सुझावलाई समेटी सरकारका लागि प्रतिवेदन तयार पारिने जानकारी दिए । उनका अनुसार छलफलमा सहभागी नयाँ पुस्ताका युवाले दिगो विकासमा युवाको भूमिका, सुशासन, सूचना प्रविधि र सामाजिक सञ्जालको उत्तरदायी प्रयोग जस्ता चार प्रमुख विषयमा गम्भीर छलफल गरेका थिए ।
कार्यक्रममा विज्ञ डा. दिपेश घिमिरेले परिवर्तित अवस्थाको सन्दर्भमा युवाको नीति निर्माणदेखि नेतृत्व तहसम्मको भूमिकाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।



