वीरगञ्ज महानगरलाई विद्युतीय उपकरण र फर्निचर सहयोग

वीरगञ्ज — गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त वीरगञ्ज महानगरपालिकालाई विभिन्न सङ्घ–संस्थाले विद्युतीय उपकरण र फर्निचर सहयोग गरेका छन् ।

सामाजिक उत्तरदायित्वअन्तर्गत एनपीएल सामाज कल्याण संस्थाले आज महानगरलाई सात थान डेस्कटप कम्प्युटर र तीन थान प्रिन्टर हस्तान्तरण गरेको छ । वीरगञ्जस्थित महानगर कार्यालयमा आयोजित कार्यक्रममा संस्थाका निर्देशक अरविन्द अमात्यले सामग्री हस्तान्तरण गर्दै नगरवासीका लागि हुने सेवामा सहजता ल्याउन सहयोग गरेको बताए ।

त्यस्तै निजी क्षेत्रको ब्रिटानिया नेपाल प्रालिले पनि आजै महानगरका लागि २० थान कुर्सी उपलब्ध गराएको छ । यसअघि सूर्य नेपाल प्रालिले ल्यापटप, कम्प्युटर र प्रिन्टर सहयोग गरेको थियो भने औषधि उत्पादक सङ्घ, वीरगञ्ज इकाइले पनि कम्प्युटर, प्रिन्टरसहितका विद्युतीय सामग्री उपलब्ध गराएको थियो ।

प्राप्त सहयोगले कार्यालय सञ्चालनमा सहजता ल्याएको र कर्मचारीको मनोबल वृद्धि गरेको वीरगञ्ज महानगरले जनाएको छ ।

महानगर प्रमुख राजेशमान सिंहले कठिन समयमा साथ र सहयोग गर्ने सबै सङ्घ–संस्था र उद्यमी समुदायप्रति आभार व्यक्त गर्दै भने,

“महानगरको सम्पत्ति जल्नु भनेको नगरवासीकै सम्पत्ति नष्ट हुनु हो । यस्तो कठिन घडीमा साथ र सहयोगका हात अघि बढाउनु हामी सबैका लागि हौसला दिने काम हो । यसले महानगरलाई फेरि उठ्ने प्रेरणा दिएको छ ।”