पौवादुङमामा अकबरे खुर्सानी खेती देशभरका किसानका लागि अध्ययन केन्द्र

भोजपुर – पौवादुङमा गाउँपालिकामा भइरहेको व्यावसायिक अकबरे खुर्सानी खेती अहिले देशभरका किसान र कृषि विज्ञका लागि सिकाइ तथा अध्ययन केन्द्र बनेको छ । यहाँका किसानले खुर्सानी खेतीबाट हासिल गरेको उल्लेखनीय आम्दानी र अपनाएको आधुनिक प्रविधिले अन्य जिल्लाका कृषकलाई आकर्षित गर्न थालेका छन् ।

गाउँपालिकामा हाल करिब चार सय हेक्टर क्षेत्रमा अकबरे खुर्सानीको व्यावसायिक खेती हुँदै आएको छ । यस क्षेत्रमा करिब नौ सय किसान प्रत्यक्ष रूपमा खेतीमा संलग्न छन्, भनी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए ।

खुर्सानी खेतीको अध्ययन, अवलोकन र अनुभव लिन देशका विभिन्न भागबाट किसान र कृषि विज्ञहरू पौवादुङमा आउने गरेका छन्। हालै सिन्धुलीको दूधौली नगरपालिकाका कार्यवाहक प्रमुख नन्दकिशोर थारु कृषि शाखाका कर्मचारीसहित यहाँ आइपुगेका थिए । उनले स्थानीय किसानका बगान अवलोकन गर्दै खेतीका प्रविधि, आम्दानी र चुनौतीका पक्षबारे जानकारी लिएका थिए । “यहाँका किसानले खुर्सानी खेतीबाट राम्रो आम्दानी लिएका छन्,” थारुले बताउनुभयो, “यहाँको प्रविधि अध्ययन गरेर हाम्रो नगरपालिकामा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने योजना छ ।”

गाउँपालिकाले अकबरे खुर्सानी खेतीमा आवद्ध किसानलाई प्राविधिक र सामग्री सहयोग गर्दै आएको छ। गाउँपालिका अध्यक्ष किरण राईका अनुसार गत वर्ष मात्र खुर्सानी बिक्रीबाट करिब १८ करोड रुपैयाँ आम्दानी भएको थियो । “खुर्सानी खेती अहिले अध्ययन केन्द्रको रूपमा विकास हुँदैछ,” उनले भने,“यो खेती हाम्रो गाउँपालिकाको मुख्य आम्दानी स्रोत बनेको छ ।”

खेती विस्तारका लागि गत आर्थिक वर्षमा गाउँपालिकाले ७५० किसानलाई करिब ७० लाख रुपैयाँ बराबरका मल्चिङ प्लास्टिकलगायतका कृषि सामग्री वितरण गरेको उपाध्यक्ष ज्योत्सना राईले बताए ।

स्थानीय किसान ठंगजीत राईले मौसमी र बेमौसमी दुबै समयमा खुर्सानी खेती गर्दै वार्षिक रु ५५ देखि ६० लाखसम्म आम्दानी गर्दै आएका छन्। ४२ रोपनी जमिनमा करिब ३२ हजार बिरुवा लगाएका उहाँले एक बोटबाट औसत रु २०० आम्दानी हुने बताए ।

खुर्सानी खेतीले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै कृषि पर्यटनको सम्भावना पनि बढाएको किसानहरूको भनाइ छ । पौवादुङमा हाल व्यावसायिक खेती र प्राविधिक सुधारका कारण अकबरे खुर्सानीले गाउँको पहिचानै बदल्न थालेको छ ।