लमजुङ, – ‘गाउँसहरमा लमजुङ दरबार…’ यी शब्द गुञ्जिँदा लमजुङको कला, संस्कृति र लोकसङ्गीतसँगै सम्झिने नाम हो वरिष्ठ लोकगायिका माया गुरुङ । गाउँघरका रोदी, मेलापात, विवाह र पूजापर्वबाट सुरु भएको उनकाे गायनयात्राले रेडियो नेपाल हुँदै राष्ट्रिय पहिचान बनाएको छ । जीवनका अनेक सङ्घर्षबीच पनि लोकगीतलाई आफ्नो जीवनको आधार बताएकी गुरुङ अब आफ्नै एकल साङ्गीतिक साँझमार्फत दर्शकमाझ प्रस्तुत हुने तयारीमा छन् ।
बेँसीसहर नगरपालिका–५ नाल्मामा जन्मनुभएकी गुरुङले करिब १२ वर्षको उमेरदेखि गाउँघरमा गीत गाउन थालेकी छन्। त्यतिबेला गीत गाउनु रहर र परम्पराको निरन्तरता थियो, जीविकोपार्जनको माध्यम थिएन । गाउँका रोदी, मेलापात, विवाह र पूजापर्वमा गीत गाएबापत पारिश्रमिक पाइँदैनथ्यो । कतिपय अवस्थामा आवतजावत खर्चसमेत जुटाउन कठिन हुन्थ्यो । तर परिवार र आफन्तको साथ तथा गीतसङ्गीतप्रतिको मोहले उनकाे यात्रा रोकिएन ।
विसं २०४४ मा पोखरा पुगेपछि रेडियो नेपालबाट प्रसारित लोकगीत सुन्ने अवसरले उहाँभित्रको गायन रहरलाई थप बलियो बनायो । रेडियोमा सुनिने गीतजस्तै आफूले पनि गीत गाउने र आफ्नो स्वर श्रोतामाझ पुर्याउने चाहना उनीमा बढ्दै गयो । अवसरको खोजीमा अघि बढाइरहेकी गुरुङले त्यसको एक वर्षपछि विसं २०४५ मा रेडियो नेपालको ‘प्रतिभा’ कार्यक्रममा गीत गाउने अवसर प्राप्त गर्नुभयो । त्यसपछि उहाँकै शब्द र स्वरमा तयार भएका लोकगीत रेडियो नेपालबाट गुञ्जिन थाले ।
उनीकाे साङ्गीतिक जीवनमा विसं २०४५ फागुन ७ गते विशेष महत्त्वको दिन बन्यो । प्रजातन्त्र दिवसका अवसरमा रेडियो नेपालले आयोजना गरेको अञ्चलस्तरीय खुला लोकगीत प्रतियोगितामा उनीले उमा गुरुङसँग मिलेर ‘गाउँसहरमा लमजुङ दरबार’ गीत प्रस्तुत गरिन् । प्रतियोगितामा प्रथम हुँदै स्वर्ण पदक प्राप्त गरेपछि उक्त गीतले उहाँलाई साङ्गीतिक क्षेत्रमा स्थापित गरायो । यही गीत लमजुङको साङ्गीतिक पहिचानसँग जोडिन पुग्यो ।
‘गाउँसहरमा लमजुङ दरबार’ले उनीलाई ख्याति दिलाउनुका साथै लमजुङको कला र संस्कृतिलाई व्यापक श्रोतामाझ चिनाउने कामसमेत गर्यो । ‘सैलुङे डाँडा नाल्माको’, ‘माया सरर’ र ‘खुर्पेटो डोकोले’ उनकाे चर्चित सिर्जना हुन् । गाउँघरको जनजीवन, स्थानीय परिवेश र मौलिक लोकभाकाको मिठास समेटिएका यी गीतले उहाँको गायनलाई थप चिनाएका छन् ।
तर, गीतसङ्गीतमा पहिचान बनाउने यात्रा उहाँका लागि सहज भने रहेन । विसं २०४३ मा लेखमान गुरुङसँग पोखराको विन्ध्यवासिनी मन्दिरमा प्रेमविवाह गरेपछि उनीले पारिवारिक कठिनाइ र आर्थिक अभावको सामना गर्नुपर्यो । घरपरिवारको जिम्मेवारी पूरा गर्दै कलाकारितालाई निरन्तरता दिन उहाँले अनेक चुनौती झेलीन् ।
गीत गाएर मात्रै जीवन धान्न कठिन भएपछि उनी पशुपालनलगायतका काममा पनि संलग्न हुनुभयो । कलाकारितामा लामो समय बिताए पनि आर्थिक रूपमा अपेक्षित उपलब्धि हासिल गर्न नसकेको उनकाे अनुभव छ । यद्यपि, दर्शकको माया र समाजमा प्राप्त सम्मानलाई उनी आफ्नो जीवनको ठूलो उपलब्धि मान्छन् ।
“यत्तिका वर्ष कलाकार भएँ, मैले पैसा कमाइनँ, इज्जत र दर्शक कमाएँ, यसमा खुसी छु,” उनी भन्छन् । यो भनाइले आर्थिक अभावबीच पनि आफ्नो कलाप्रतिको समर्पण र दर्शकबाट पाएको मायालाई जीवनको उपलब्धि मान्ने उनकाे भावना झल्काउँछ ।
दशकौँको चाहना पूरा हुँदै
लामो समयदेखि आफ्नै एकल साङ्गीतिक कार्यक्रम गर्ने चाहना राख्नुभएकी गुरुङको त्यो सपना अब पूरा हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, लमजुङ जिल्ला समितिको आयोजनामा आगामी मङ्सिर १९ गते बेँसीसहर नगरपालिका–८ स्थित फूलबारी मञ्चमा ‘माया गुरुङ एकल साङ्गीतिक साँझ–२०८३’ आयोजना हुँदैछ ।
लामो समयदेखि लोकगीतमा योगदान दिँदै आउनुभएकी गायिकाको सम्मान र उनकाे साङ्गीतिक यात्रालाई दर्शकमाझ पुनः प्रस्तुत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रमबाट बचत भएको रकम कलाकार कल्याण कोष स्थापना गर्न उपयोग गर्ने तयारीसमेत गरिएको छ । यसले एक कलाकारको सम्मानसँगै अन्य कलाकारको हितका लागि कोष निर्माण गर्ने उद्देश्य पनि बोकेको छ ।
मौलिक लोकभाका जोगाउने चिन्ता
समयसँगै गीत सुन्ने माध्यम, प्रस्तुति शैली र सङ्गीतको स्वरूप परिवर्तन हुँदै गएको छ । नयाँ पुस्तामाझ आधुनिक शैलीका गीतको आकर्षण बढिरहेका बेला पुराना लोकभाका र मौलिक संस्कृतिका कतिपय पक्ष ओझेलमा पर्न थालेको गुरुङको चिन्ता छ । उनी नयाँ पुस्ताले आफ्नो मौलिक गीत, सङ्गीत र संस्कृतिलाई बिर्सन नहुने बताउछन् ।
उनका लागि लोकगीत केवल मनोरञ्जनको माध्यम होइन, आफ्नो गाउँ, समाज, भाषा, संस्कृति र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको परम्पराको अभिव्यक्ति पनि हो । त्यसैले जीवनको उत्तरार्धसम्म पनि मौलिक लोकभाकालाई निरन्तरता दिने र आफ्नो पहिचान बनेको गीतलाई जीवित राख्ने चाहना उनीमा छ ।
‘गाउँसहरमा लमजुङ दरबार’सँग जोडिएको आफ्नो जीवन र पहिचानप्रति भावुक हुँदै उनी भन्छन्, “मर्ने बेलासम्म यही ‘लमजुङ दरबार’ गाउँदै मर्न पाऊँ । मरिसकेपछि पनि यही गीत गाएर मलाई बिदाइ गरियोस् । म नरहे पनि ‘लमजुङ दरबार’ गीत सधैँभरि गुञ्जिरहोस् भन्ने मेरो चाहना हो ।”
दशकौँअघि गाउँघरका रोदी र मेलापातबाट सुरु भएको माया गुरुङको गायनयात्रा आज पनि उही लोकभाकाप्रतिको प्रेममा अडिएको छ । आर्थिक कठिनाइले उनकाे साधना रोक्न सकेन, समयको परिवर्तनले मौलिक गीतप्रतिको मोह घटाउन सकेन । अब मङ्सिर १९ गते हुने एकल साङ्गीतिक साँझ उनकाे लामो साधना, सङ्घर्ष र नेपाली लोकसङ्गीतप्रतिको योगदानलाई सम्मान गर्ने अवसर बन्ने अपेक्षा गरिएको छ ।



