आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ — स्वास्थ्य सेवा विभागको पोषण शाखाले बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज पनि भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइने जनाएको छ ।

शाखा प्रमुख लिलाबिक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि वितरण गरिँदै छ ।

कार्यक्रम सञ्चालनका लागि देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

दोस्रो चरणको भिटामिन ‘ए’ वितरण कार्यक्रम आगामी वैशाख ६ र ७ गते सञ्चालन हुने पनि थापाले जानकारी दिए ।

सरकारले बालबालिकामा कुपोषणको जोखिम घटाउन सन् १९९३ (वि.सं. २०५०) देखि नियमित रूपमा भिटामिन ‘ए’ क्याप्सुल र वि.सं. २०५६ सालदेखि जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ ।